बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन नेपालगन्ज–११ स्पोटिङ क्लब भएको छ । बुधवार भएको फाइनल खेलबाट नकआउट प्रतियोगिताको विजेता बन्दैं नेपालगन्ज–११ बाँके जिल्ला फुटबल संघको ए डिभिजन क्लबमा प्रवेश गरेको हो ।
यो नतिजाले हामीलाई अझै परिष्कृत गर्दै अगाडी बढ्न प्रेरणा दिएको छ,’ विजेता नेपालगन्ज–११ का अध्यक्ष घनश्याम थापाले च्याम्पियनसीप उपाधि उचालेपछि दैनिक नेपालगन्जसँग भने । थापाले पछिल्ला वर्ष क्लबलाई जिल्लामामात्रै होइन देशका विभिन्न ठाउँमा पुर्याएर प्रतिष्पर्धीका रूपमा उभ्याएका छन् ।
बाँकेको कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा भएको फाइनल खेलमा नेपालगन्ज–११ ले न्यू दपर्ण युथ स्पोर्ट्स क्लबलाई ५–० ले पराजित गरेको थियो । नेपालगन्ज–११ को जितमा विपिन थापा मगरले २ गोल, सुमित थापा, प्रेम बहादुर सुनार, लक्ष्मण राना मगरले १–१ गोलको योगदान गरेर नेपालगन्ज–११ लाई जिल्ला च्याम्पियन बनाउन सफल भए । सुमितले सुरुआतमै ७ मिनेटमा, प्रेमले १८औं मिनेट, लक्ष्मणले ४९औं मिनेट, विपिनले ६२औं र ६८औं मिनेटमा गोल गरेका हुन् ।
प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदी, कोहलपुर नगरपालिका वडा नम्बर १२ अध्यक्ष विरेन्द्र शाह, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही लगायतले पुरस्कृत गरेका थिए ।
जेठको १९ गते देखि सुरु भएको प्रतियोगितामा नेपालगन्ज –११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यू दर्पण युवा स्पोट्र्स क्लब, न्यू नलेज स्पोट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको थियो ।