१. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधान सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको बुधबार पोखरामा आयोजित पार्टी प्रशिक्षणमा बताएका छन् ।
२. अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा स्वदेशमा उत्पादन भएको आलु, प्याज र स्याउमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लागेकाले यस वर्ष हटाएको बताएका छन् ।
आलु, प्याज र स्याउमा लिँदै आएको भ्याट आगामी आर्थिक वर्ष २०८१÷८२ मा हटाएपछि नेपाली कांग्रेसका केही सांसदले यसको विरोध गरेका थिए ।
३. नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले असार १ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर, खानी तथा वालुवा उद्योगहरुको नवीकरण नभए असार १ गतेदेखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योग एवं बिक्री वितरण अनश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएका हुन् ।
४. सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्चवर्षीय रणनीति बनाएको छ ।
अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको छ ।
५. उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताएका छन् ।
काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गतेदेखि सुरु गरेको सीप मेलाको ‘नीति संवाद’ कार्यक्रममा भण्डारीले मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार रहेको बताए ।
६. पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि यहाँ पर्ने चारवटा खोलामा पुल नबन्दा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । पर्वत खण्डअन्तर्गत विभिन्न खोलामा चारवटा मोटरेवल पुल निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म एउटा पनि पूरा हुन सकेको छैन ।
७. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ ।
प्राधिकरणले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने जनाइएको छ ।
८. भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ । रु ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो ।