पानीको स्रोत संरक्षण, प्राकृतिक रिचार्ज प्रणाली र आपतकालीन अवस्थामा वैकल्पिक व्यवस्थाका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ ले परम्परागत इनारको संरक्षणमा आफ्नो अग्रसरता देखाएको छ । त्यससँगै वडाभित्र रहेका खाली जग्गा तथा सामुदायिक सम्पत्तिको संरक्षणमा पनि वडाको सक्रियता देखिएको छ ।
चर्काे गर्मीको समयमा नेपालगन्जका अधिकांश हाते नलहरूमा पानी आउन बन्द हुन थालेका बेला वडा नम्बर ७ को यो अग्रसरताले गतिलो सन्देश प्रवाह गरेको हो । ‘वडाभित्रका सबैजसो कुवाको संरक्षण सुरू गरेका छौं,’ प्रयोगहीन इनारलाई सफा गरेर उपयोगयोग्य बनाएर संरक्षण गरिएको जानकारी दिंदै वडाध्यक्ष प्रशान्त श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘अहिले लुगा धुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्नेलगायत कामका लागि यो कुवाको पानीको प्रयोग हुन थालेको छ ।’
त्यतिमात्रै होइन, वडा नं ७ मा रहेको पुरानो कुवालाई देखाउँदै वडाध्यक्ष श्रेष्ठले संरक्षणसँगै गरी चार हजार लिटर क्षमताको ट्याङ्कीमा पानी संकलन गरिराख्ने व्यवस्था मिलाइएको बताए । ‘टोलैपिच्छे रहेका इनार, कुवासँगै सारा ताल तलैया मासिएपछि नेपालगन्जमा पानीको स्रोतनै सकियो,’ वडाध्यक्ष श्रेष्ठले जति सकिन्छ आफुले परम्परागत ताल तलैयारहेका खाली जमिनको खोजी र इनारको संरक्षण शुरु गरेको जानकारी दिंदै भने ।
त्यतिमात्रै होइन, साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भएमा ट्याङ्कीबाट जम्मा गरिएको कुवाको पानीले आगो नियन्त्रण गरिने योजना सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले बनाएको छ । परम्परागत कुवा संरक्षण गरी आगजनीजन्य विपद्का बेला दमकलले प्रयोग गर्न आवश्यक पानी भर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिंदै वडाध्यक्ष श्रेष्ठले. भने, ‘यसैवर्ष कयौं पटक भरिसकेको छ, दमकलले पानी ।’ एकैपटक २० हजार लिटरसम्म पानी दमकलले भर्नसक्ने क्षमता रहेको उनको भनाइ छ ।
वडाध्यक्ष श्रेष्ठ आफ्नो बोर्डलाई एकमत बनाएर वडाका खाली तथा सरकारी जग्गा संरक्षणमा लागको बताउँछन् । उनले त्यसो भनिरहँदा महिला सदस्य चन्द्र कला गूरुङ्ग, दलित महिला सदस्य कल्पना नेपाली, सदस्य नुर मोहम्मद पठान र सदस्य समीर खाँन सँगै इनार छेउ उभिँदै भने, ‘वडाभित्रका सबैजसो कुवाको संरक्षण हाम्रो दायित्वका रूपमा लिएका छौं ।’
अत्यधिक गर्मीको बेला पानीको सतह घट्ने गरेकोले पानीको समस्या हुन थालेपछि वडा नम्बर ७ ले थालेको परम्परागत कुवा संरक्षणको अग्रसरता नेपालगन्ज ३ र ११ मा पनि अगाडी बढाइएको बताइएको छ । चर्काे गर्मीसँगै पानीको सतह घटेर समस्या हुन थालेपछि वडाभित्रका इनार संरक्षणलाई विस्तार गरिएको हो ।
‘इनार सरंक्षणले हाते नलमा पानी घटेको बेला पिउन वैकल्पिक पानीको व्यवस्था गर्नुका साथै साँघुरो गल्ली र टोलहरूमा आगलागी हुँदा मोटरसाइकल दमकल लगायतलाई पानी लिन सहज भएको छ,’ नेपालगन्ज उपमहानगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक समीर प्रताप सिंहले दैनिक नेपालगन्जसँग भने । उनले नगरका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी परम्परागत इनारको संरक्षणलाई अगाडी बढाइएको बताए । सिंहका अनुसार, दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेका बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी सङ्कलन गरी ‘ड्राइफायर हाइड्रेण्ड’ विधिको विकास पनि गरिएको छ ।