नेपालगन्ज सहकारी नियमन प्रयास

पछिल्ला बर्ष नेपालगन्जमा केही सहकारी समस्यामा आए । आधिकारिक रूपमा औंंलामा गन्न सकिने सहकारीमा समस्या देखिएपनि तीनमा आबद्ध हजारौं बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाउन सकेका छैनन् । सहकारी नियमनको जिम्मेवारी उनीहरूको कार्यक्षेत्र अनुसार छुट्याइएको छ । सहकारी समस्यामा पर्ने अवस्था न्यूनीकरणका लागि नेपालगन्ज उपमहानगरपालिकाले चासो देखाएको छ ।

नेपालगन्ज उपमहानगर–पालिकाले आफ्नो कार्यक्षेत्र भित्र रहेका सहकारीहरूको अनुगमन गर्ने, सहकारीको मापदण्ड, ऐन, नियम पालना नगरेको भए सुधारको निर्देशन दिने, स्पष्टीकरण सोध्ने लगायतको कार्य गरिरहेको छ । त्यसका लागि उपमहानगरपालिकाले अनुगमन टोली नै बनाएको छ ।

नेपालगन्ज उपमहानगर–पालिकाका सहकारी शाखा प्रमुख प्रविण राना नेपालगन्ज भित्र रहेका सहकारीहरूको अनुगमन निरन्तर भैरहेको बताउँछन् । ‘केही सहकारीमा समस्या नभएको होइन, अनुगमनमा कैफियत भेटिंदा सुधारका लागि निर्देशन दिने, स्पष्टिकरणसम्मको कारवाही गर्दै आएका छौं’, उनले भने, ‘ऋणिले बचत फिर्ता नगर्दा बचतकर्ताले बचत नपाएको पनि आवस्था रहेकाले अहिले सहकारीलाई खारेजीसम्मको कारवाही भने गरेका छैनौं, सुधारका लागि निर्देशन दिने गरेका छौं ।’ सहकारी शाखा प्रमुख रानाले सहकारीले अनुगमनका दिएका निर्देशन पालना नगरेमा आगामी आ.व.मा खारेजीका सम्मका प्रक्रियामा जान सकिने बताए ।

नेपालगन्ज उपमहानगर–पालिकाले चालु आ.व.मा नियमन क्षेत्रभित्रका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास तालिम पनि दिएको छ । उपमहानगरपालिकाको सहकारी शाखाले सहकारी तथा गरिवी निवारण व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम पनि सञ्चालन गरेको शाखा प्रमुख राना बताउँछन् ।

नेपालगन्ज उपमहानगरपालिका भित्र १ सय १२ सहकारी रहेको तथ्यांक छ । तर, उपमहानगरपालिकाले सम्पर्कमा आउन गरेको सूचना आव्हानमा जम्मा ६९ सहकारी मात्रै सम्पर्कमा आएका थिए । ‘निष्क्रिय सहकारी एकीन गरेका छैनौं, एक पटक फेरि सूचना जारी गरेर निष्क्रियलाई खारेजीको प्रक्रिया अगाडि बढाउँछौं’, सहकारी शाखा प्रमुख रानाले भने ।

नेपालगन्ज उपमहानगर–पालिकाले बचत तथा ऋण सहकारीको अनुगमनलाई प्राथमिकता दिएको छ । सहकारी शाखा प्रमुख राना प्रत्येक बर्ष एकपटक सहकारीमा पुग्ने योजना रहेपनि जनशक्ति अभावले सम्भवन नभएको बताए । ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा चालु आ.व.को अन्त्यसम्म पुग्ने प्रयास गरिनेछ’, उनले भने । उपमहानगरपालिकाको सम्पर्कमा रहेका आधा बढी सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् ।

नेपालगन्ज उपमहानगर–पालिकाले सहकारी सुधार्ने अभियान अन्तर्गत नगरभित्रका सहकारीहरूमा अनुगमन गरिरहेको हो । चालु आ.व.मा १५ वटा जति सहकारीमा अनुगमन गरिसकेको बताउने रानाले अघिल्लो आ.व.मा अनुगमनको संख्या दोब्बर रहेको बताए ।
सहकारी अनुगमनका लागि सहकारी शाखा प्रमुखको नेतृत्वमा अनुगमन समिति बनाइएको छ ।

सहकारी शाखा प्रमुख रानाले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको बताउँदै अब पनि लापरबाही भेटिए सहकारी ऐन बमोजिम कारबाही गरिने प्रष्ट पारेका । उनले सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब ‘एक्सन’ मै उत्रेको बताएका हुन् ।

‘सहकारीको अनुगमन नियमित प्रक्रिया हो’, शाखा प्रमुख राना भन्छन्, ‘नेपालगन्जमात्रै
कार्यक्षेत्र भएका बाहेकका सहकारीहरूको पनि अनुगमन गरी अवस्था सम्बन्धित निकायमा सिफारिस गर्ने योजना छ ।’

अर्बौ जनताको बचत संकलन गरेर ऋण लगानी गर्ने सहकारीहरूको नियामक निकायले समयसमय उचित नियमन नगर्दा समस्या सिर्जना हुने गरेको छ । त्यसमाथि कोरोनाकाल पछि बचतमा आउने कमी, ऋण फिर्ता गर्न नसक्ने अवस्था, सञ्चालकहरूको मनपरी र शेयर सदस्यहरूले समेत सहकारीका सम्बन्धमा चासो नराख्दा एकपछि अर्को सहकारीमा समस्या देखिन थालेको हो ।

नेपालगन्जमात्रै होइन देशभर नै सहकारी डुबेका समाचार प्रकाशमा आउने गरेको छ । संख्यामा थोरै सहकारीमा समस्या आउँदा पनि त्यसबाट समस्या पर्ने हजारौं बचतकर्ता हुने गरेका छन् ।

नेपालगन्ज जस्तो भारतसँग सीमा जोडिएको क्षेत्रमा बचतका नाममा दैनिक करोडौं भारत जाने गरेको थियो । नेपालगन्जमा सहकारी थपिंदै जाँदा भारत तर्फ जाने बचत ठप्प भयो । बचत बाहिरिन नदिएका सहकारी विभिन्न कारणले समस्यामा आएपछि अहिले सहकारीमा बचत गर्नेहरूको संख्यामा पनि कमी सहकारी सम्बद्ध बताउँछन् ।

‘बचत गर्नेहरूको संख्या र बचत संकलन रकम घटेको छ’, सहकारीका एक सञ्चालकले भने, ‘एउटा सहकारीको बदमासीका कारण अन्य सहकारीमाथि पनि आशंका गरिएको पाइन्छ ।’

Exit mobile version