खाएका कारण नै विभिन्न रोग निम्तिने अवस्था अन्त्य गर्नका लागि उत्पादनदेखि उपभोगसम्म खाद्य स्वच्छता कायम गर्न सबै तह जिम्मेवार हुनुपर्ने शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले आयोजना गरेको र्याली पछि आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले पछिल्ला समय अखाद्य समाग्री विक्री भैरहेको चिन्ता व्यक्त गर्दै उत्पादनदेखि उपभोगसम्म खाद्यान्नलाई स्वच्छ राख्द सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । अखाद्य वस्तुका कारण विभिन्न खालका अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने औंल्याउँदै कार्यक्रमका वक्ताहरूले खाद्य स्वच्छताका लागि सबै सरोकारवालाले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका हुन् ।
‘किसानले उत्पादन गर्दा होस् वा उत्पादित सामाग्रीको भण्डारण तथा व्यवसायीले बिक्री गर्दा तथा उपभोक्ताले प्रयोग गर्दा खाद्यान्नको गुणस्तर कायम रहेको अवस्था सुनिश्चित हुनुपर्छ’, कार्यक्रमका वक्ताहरूले पछिल्लो समयमा बजारमा पाइने गरेको अखाद्य बस्तुप्रति चिन्ता व्यक्त गर्दै भने ।
कार्यक्रमको अध्यक्षता गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले नेपालमा खेत बाँझै रहने र भारतबाट खाद्यान्न आयात गर्ने अवस्थाको अन्त्य गर्न तीन तहकै सरकार लाग्नु पर्ने बताए । उनले खाद्य स्वच्छतामा कमी हुनुको प्रमुख कारण चेतना नहुनु र नियमन नहुनु रहेको बताएका छन् ।
राज्यका निकायले बेलाबेलामा अनुगमन गर्ने भएपछि सम्बन्धित आफैले आफ्नो अनुगमन गर्नुपर्ने प्रजिअ रिजालले बताए । उनले खाद्य उत्पादकदेखि उपभोक्तासम्म सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।
प्रमुख जिल्ला अधिकारी रिजालले खाद्य स्वच्छता कायम गर्दा आफ्नो अधिकार खोज्नेले दायित्व पनि पूरा गर्नुपर्ने बताए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि क्षतिपूर्तिको कानुनी व्यवस्था कडाईका साथ लागु हुनुपर्ने धारणा राखे ।
साल्ट टे«डिङ्गका प्रमुख मनोज कुमार चौधरीले जंग फुड र खाने तरिका सही नहुँदा मानिसहरू रोगी हुँदै गएको बताए । उनले आयोडिन नुनको प्रयोगको महत्वबारे कार्यक्रममा जानकारी दिएका थिए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले खानका लागि प्रयोग हुने कृषि उत्पादन देखि पशु पालनसम्ममा खाद्य स्वच्छताको ध्यान दिइनु पर्ने बताए ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख अमित भुषण सुमनले खाद्य स्वच्छता दिवसको महत्वबारे प्रकाश पारेको कार्यक्रममा खाद्य अधिकारकर्मी बसन्त गौतमले सबैले स्वच्छ खान पाउने अवस्थाको सुनिश्चित हुनुपर्ने बताए । ‘गुणस्तरीय वस्तु तथा सेवाको प्रयोग गर्न पाउनु मानव अधिकार हो’, उनले भने । अधिकारकर्मी गौतमले विपद्का बेला पनि स्वच्छ खाद्यान्न खान पाउनु नागरिकको अधिकार भएकाले त्यसका लागि पूर्वतयारी समेत आवश्यक रहेको बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका टंक धामीले विपद्को सम्भावना औंल्याइएकाले त्यसअघि नै स्वच्छ खाद्यान्न नागरिकसम्म पुर्याउनका लागि योजना तयार हुनुपर्ने बताए । उनले बदमासी गर्ने व्यवसायीलाई संरक्षण नगर्ने स्पष्ट पार्दै अनुगमनका नाममा व्यवसायीलाई अनाहक दुःख दिने काम हुन नहुने बताए । उनले खुला सीमाका कारण आखाद्य वस्तु विभिन्न माध्यमबाट भित्रिइरहेकाले त्यसलाई रोक्न सरोकारवालाको ध्यान पुग्नु पर्ने बताए ।
त्यसअघि जिल्ला प्रशासन कार्यालय नेपालगन्जबाट सुरु भएको जनचेतनामुलक प्रभातफेरी कार्यक्रम सदरलाइन, त्रिभुवनचोक, ईदगाहरोड, बिपिचोक, सुर्खेतरोड हुँदै स्वस्तिक कजेटमा पुगेर कोण सभामा परिणत भएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अधिकृत एकराज बुढाथोकीले जानकारी दिए ।