नियमन अभावले ग्रिल, स्टिल तथा आल्मुनियम व्यवसायी धराशयी हुने अवस्थामा पुगेको सम्बद्ध व्यवसायीहरूले गुनासो गरेका छन् । खासगरी खुला सीमानाका कारण भारतबाट आउने ‘झोले मिस्त्री’ का कारण आफ्नो व्यवसाय धराशयी भएको उनीहरूको गुनासो छ ।
‘झोलामा औजार बोकेर घरघर पुग्ने दिनभरी काम गरेर साँझ फर्किनेहरूका कारण बाँकेको ग्रिल, स्टील तथा आल्मुनियम व्यवसाय धराशयी हुने अवस्थामा पुगेको छ,’ ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघ बाँकेका अध्यक्ष जनक पहराई मगरले दैनिक नेपालगन्जसँग भने, ‘यसविरुद्ध नियामक निकायलाई गम्भीर ध्यानाकर्षण आवश्यक देखिएको छ ।’
समस्याहरू बढ्दै गएपछि शनिबार जिल्लाभरका व्यवसायीहरू भेला भए । उनीहरूले साझा समस्याको सामूहिक समाधान खोज्दै संगठित हुने निर्णय गरेका हुन् । त्यसका लागि ग्रिल, स्टील तथा आल्मुनियम व्यवसाय संघको बाँके शाखा बिस्तार गर्दै जनक पहराई मगरलाई अध्यक्ष चयन गरेका हुन् ।
भेलामा सहभागी व्यवसायीहरूले राज्यले आफुहरूलाई करको दायरामा ल्याएर नियमन गर्ने तर भारतबाट आउनेहरूलाई करको दायरामा ल्याउने तर्फ पटक्कै चासो नदिंदा आफुहरू मारमा परेको गुनासो गरे । ‘कि हामीलाई पनि करको दायराबाट मुक्त गर्नुपर्यो, होइन भने एउटै प्रकृतिको काम गर्ने अन्यलाई छुट छाडिदिंदा कर दाता व्यवसायी मारमा परे’, व्यवसायीहरूको एक स्वर थियो, ‘यसले राज्यलाई पनि करोडौं रूपैयाँ नोक्सानी भैरहेको छ ।’
बाँकेमा मात्रै झण्डै दुई सय ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संगठित छन् । ‘झोले मिस्त्रीका कारण व्यवसाय चौपट भएपछि संगठित हुनुको विकल्प देखिएन’, शनिबार भएको पहिलो भेलाबाट अध्यक्ष चयन भएका मगरले दैनिक नेपालगन्जसँग भने, ‘अब नियामक निकायलाई एकैठाउँमा राखेर समाधानका उपायमा तत्काल तदारुखता देखाइनेछ ।’
व्यवसायीका अनुसार, तीन लाखदेखि तीस लाखसम्म लगानीका साना उद्योगहरू बाँकेमा सञ्चालित छन् । ‘करोडौं लगानीका सप्लायर्सहरू पनि हामीसँगै संगठित हुनुहुन्छ’, अध्यक्ष मगर भन्छन्, ‘सबैको समस्या समान छन् ।’
व्यवसायीहरूले बाँकेमा मात्रै सय बढी भारतीय मिस्त्री घरघरै गएर झ्याल, ढोका, सिढी लगायतका स्टील, आल्मुनियम, ग्रीलको काम गरिदिने गरेको बताउँछन् । ‘उनीहरू कम्तिमा एक लाख भारतीय रूपैयाँ मासिक यहाँबाट कमाएर लैजान्छन्’, उनीहरूको भनाइ छ, ‘भारतीय मिस्त्रीलाई करको दायरामा ल्याउन सके स्थानीय मिस्त्री तथा व्यवसायलाई पनि टेवा पुग्छ, राज्यलाई राजश्व पनि आम्दानी हुन्छ ।’ व्यवसायीहरूको भनाइ हो, ‘घरघरै पुगेर गैरव्यवसायिक बार्गेनिङ्गमा काम गरिदिंदा अस्वस्थ प्रतिस्पर्धा त भयो नै, नियम, कानुन र राजश्वको दायरामा लाखौं घरभाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेकाहरू धराशयी भए ।’
मगरको नेतृत्वमा बन्यो संघ
बाँकेका ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संगठित भएका छन् । शनिबार ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघ, बाँकेको प्रथम अधिवेशनले मगरको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महोमद फरिल, उपाध्यक्ष नवीन शर्मा, सचिवमा रविन पोखरेल, महासचिव सुर्य गिरि, सचिव राजेश यादव, कोषाध्यक्षमा नारायण बुढामगर सहकोषाध्यक्ष दिल बहादुर आले चयन भएका छन् । त्यस्तै, सदस्यमा रेवत महोतो, रामु गौतम, अशोक गुरुङ, असत् तिमिल्सिना, शमशाद शेख, सुरेश कुमार चोैंधरी, ह्वावेल थारु, राम कुमार थापा मगर, पुर्ण बहादुर हमाल, धनि सुनार, सखावात हुसेन र जमान अन्सारीलाई सर्वसम्मत चयन गरिएको हो ।