प्रहरीले अवैध रूपमा हुने तस्करीमा ढुवानीका साधन समेत नियन्त्रणमा लिन थालेको छ । भारतबाट भन्सार छलेर ल्याउन प्रयोग हुने सवारी साधन पनि प्रहरीले मालसामानसँगै नियन्त्रणमा लिएर भन्सार बुझाउने गरेको छ ।
प्रहरीले भन्सार छलेर ल्याएको मालसामान नेपालगन्जको विपीबाट बसमा फेला पारेपछि बस नै नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, दुई थान एसी, ४८ पिस कुर्ता सुरुवाल, ३० रोल कपडा ल्याएको फेला परेपछि ढुवानीमा प्रयोग भएको बस समेत नियन्त्रणमा लिइएको हो ।
प्रहरीले सामान र बसको मूल्यांकन २० लाख ४८ हजार गरेको छ ।
नेपालगन्जको मुख्य नाकामा ठाउँठाउँमा चेकिङ्ग रहेको छ । त्यसबाहेक भित्री नाकाहरूका विभिन्न ठाउँमा पनि निगरानीका लागि सुरक्षाकर्मीहरू खटिएका हुन्छन् । तर, पनि तस्करी भने रोकिएको पाइँदैन । तस्करी भएर नाकाबाट भित्रिसकेका मालसामान सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी चालु आ.व.को नौ महिनामा मात्रै भन्सार छलेर ल्याएको १२ करोड बढीको मालसामान बरामद गरेको तथ्यांक उनीहरूको रहेको छ । सशस्त्र प्रहरीले चालु आ.व.को चैत्रसम्म १० करोड १० लाख रूपैयाँ बढीको बराबरको भन्सार छली गरी भित्रिएका अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणको तथ्यांक छ । बाँके प्रहरीले चालु आ.व.को नौ महिनामा २ करोड २९ हजार २१ रूपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।