देशमा आजः ८ बजे ८ खबर

१. जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।

२. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

३. राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तोकेका छन् ।

४. कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ ।

५. एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । कलंकीस्थित ह्वाइट ¥याबिट रेस्टुरेन्टबाट आइतबार प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

६. नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

७. उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपहरुको सम्बन्धित ठाउँमा जवाफ दिने बताएका छन् । तर हरेक आरोपको जहाँ पायो त्यहीँ जवाफ नदिने उनले बताए । विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुका जिज्ञासामा मन्त्री लामिछानेले विपक्षी नेपाली कांग्रेसले लगाएका आरोपबारे जवाफ दिनुपर्ने ठाउँमा दिने बताए ।

८. गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग विश्वासको मत दिन आग्रह गरेका छन् । सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका उनले पत्र लेखेर उक्त आग्रह गरेका हुन् ।

Exit mobile version