देशमा आजः ८ बजे ८ खबर

१. गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव २७ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९६ प्रतिशत छ ।

२. सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार उपप्रधानमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट निवेदनमाथि सुनुवाइका लागि आवश्यक मिसिलहरू झिकाउने आदेश गरेको हो ।

३. स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले सामेबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।

४. युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । आगामी मङ्सिरमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेल पूर्वाधार तथा निर्माणको गति बुझ्न सुर्खेत आएका मन्त्री श्रेष्ठले सोमबार निर्माणस्थलको अनुगमन गरे ।

५. विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा सोमबार बझाङमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ । सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र प्रहरी बलका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो ।

६. यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू–भागमा सोमबार देखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

७. नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन असार ११ देखि १३ गतेसम्म हुने भएको छ ।

८. चालु आर्थिक वर्षको १० महिनामा करिब १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको १० महिना (२०८० साउन– २०८१ वैशाख) सम्मको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी सार्वजनिक प्रतिवेदन अनुसार १० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ ।

Exit mobile version