भंसारकाे ब्यारियल रातिमा बन्द हुँदा स्थानीयलाई सास्ती

तत्काल खाेल्न एमाले बाँकेका उपसचिव किशाेर थापाकाे बाँकेका सिडिओलाई ध्यानाकर्षण

नेपालगन्ज भंसार कार्यालय अगाडिको ‘ब्यारियल’ रातिकाे समयमा खुल्ला राखेर स्थानीय नागरिकले भाेग्दै आएको सास्ती हटाउन नेकपा एमाले बाँकेका उपसचिव किशाेर थापाले बाँकेका प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण गराएका छन् । बुधबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भेटेर उपसचिव थापाले जमुनाह नाकाकाे ब्यारियल रातिकाे समयमा बन्द हुने भएकोले त्यसकाे करिब एक किलोमिटर वर भंसारले ब्यारियल लगाएर आवातजावत राेक्नु कुनै प्रकारले जायज नभएको बताए । ‘अन्तर्राष्ट्रिय सिमा नाका जमुनाह त बन्द हुने नै भयाे । त्याे बन्द हुँदाहुँदै एक किलाेमिटर वर रहेकाे भंसारले ब्यारियल लगाएर कुन प्रयाेजनका लागि राति आवातजावत बन्द गर्नुपरेकाे हाे सम्बन्धित निकायले पुष्टि गर्न सकेका छैनन् ।’- सिडिओलाई ध्यानाकर्षण गराउँदै थापाले भने । यसरी औचित्यहिन र अनुपयुक्त तरिकाले रातिकाे समयमा भंसारकाे ब्यारियल बन्द गर्दा सिमाक्षेत्रका बीस हजार नागरिक प्रत्यक्षरुपमा प्रभावित भएको उपसचिव थापाले बताए ।‘जमुनाह नाकादेखि भंसारकाेबिचमा ठुलो संख्यामा नागरिक बसाेबास गर्छन् । रातिको समयमा दुखबिरामि पर्दा समेत उनिहरुलाई ब्यारियल काट्न धाैधाै पर्छ ।’- थापाले भने,-‘जमुनाह नाका बन्द गर्दागर्दै भंसारकाे ब्यारियल पनि बन्द गर्नुपर्ने औचित्य नभएकोले तत्काल यसलाई हटाउन पहल गर्नुहाेला ।’  नेपाल-भारत अन्तर्राष्ट्रिय सिमामा राति दस बजे बन्द हुन्छ भने बिहान छ बजे खुल्छ । नेपालतर्फ सिमानाका जमुनाह सहित एक किलोमिटर वर रहेकाे भंसार समेत बन्द हुन्छ । त्यसरी बन्द हुँदा भंसार र जमुनाहसम्म बसाेबास गर्ने सर्बसाधारणलाई मर्का परेकाे छ । ब्यारियलमा ठाेक्किएर माेटरसाईकल यात्रुकाे निधन समेत भईसकेकाे छ । औचित्य नभएकाले ब्यारियल रातिमा बन्द नगर्न माग गर्दै उपसचिव थापाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन । प्रमुख जिल्ला अधिकारी रिजालले याे बिषयमा पहल गर्ने बताए ।

Exit mobile version