देशमा आजः ८ बजे ८ खबर

१. नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैङ्क लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।

२. राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रश्नावली अन्तर्गतको नतिजा अनुसार अधिकांश वडाको आम्दानीको स्रोत भूमि र मालपोत कर देखिएको छ ।

३. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दबासिनी कंसाकारले प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा जलन उपचार कोषको व्यवस्था गर्न माग गरेकी छन् ।

४. चितवनको भरतपुर महानगरपालिकामा वार्षिक रु ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण भित्रने गरेको छ । सुरक्षित आप्रवासन कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाबाट भित्रिएको विप्रेषण रकम हो ।

५. नेपाल एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सङ्घ सरकारमा रहेका विद्यमान २५ मन्त्रालयको संख्या घटाएर १२ मा कायम राख्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले प्रशासनिक सुधार आयोगको प्रतिवेदनका आधारमा पनि मन्त्रालयको संख्या घटाउनुपर्ने बताएका हुन् ।

६. नेपाल सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षता बुधबार बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ नाराका साथ विद्यालयस्तरमा दिवस मनाउने निर्णय गरेको हो ।

७. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको प्रदेश संरचनाले संविधानले परिकल्पना गरेजस्तो काम गर्न नसकेको टिप्पणी गरेका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवशको कार्यक्रममा बोल्दै उनले अहिलेको प्रदेश संरचना बेढंगको भएको टिप्पणी गरे ।

८. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा बुधबार आयोजित त्रैमासिक समीक्षामा राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् ।

Exit mobile version