गर्मीसँगै रगतको अभाव

पश्चिम नेपालकै स्वास्थ्य हबका रूपमा नेपालगन्ज अघि बढिरहेको छ । बाँकेमा स्वास्थ्य संस्थाहरू थपिंदै गएका छन् । स्वास्थ्य संस्था थपिंदै जाँदा बिरामीहरू रेफर भएर आउने क्रम पनि बढेको छ । बिरामी थपिंदा उनीहरूको उपचारका लागि रगतको माग पनि बढ्दै गएको छ । रगतको माग बढिरहँदा आपूर्ति भने त्यस अनुसार नहुँदा नेपालगन्जमा रगत अभाव हुन थालेको छ ।

रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)मा रगतको मौज्दात न्यून रहेको ब्लड बैंक प्रमुख उपेन्द्र रेग्मी बताउँछन् । खासगरी पर्वका बेला, गर्मीका बेला रक्तदानमा हुने कमीले माग र आपूर्तिको सन्तुलन बिग्रने गरेको उनी बताउँछन् ।

नेपालगन्ज स्थित भेरी अस्पताल परिसर, खजुरा क्यान्सर अस्पताल र कोहलपुर मेडिकल कलेजबाट बिरामीका लागि आवश्यक रगत ब्लड बैंकले वितरण गर्दै आएको छ । रक्तदानको भरमा रहेको ब्लड बैंकमा माग अनुसार रगत नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । थालेसिमिया, सिकलसेलका बिरामीलाई समेत नियमित रूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग रहेको छ । कुनै अप्रिय घटना भैहाले आवश्यक रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त स्टक छैन ।

‘रगत माग हुँदा स्टक अभावले बिरामीका आफन्तलाई नै ल्याउ भन्नुपर्ने अवस्था छ’, ब्लड बैंक प्रमुख रेग्मी भन्छन्, ‘तर, स्टकमा उपलब्ध हुँदासम्म कसैलाई रगत छैन भन्ने अवस्था हुँदैन ।’ ‘आवश्यकता बमोजिम रक्तदानका कार्यक्रम नहुँदा बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्ने हुन्छ’, प्रमुख रेग्मी भन्छन्, ‘कसैका आफन्तबाट रगतको व्यवस्था नहुने देखिएमा रगत दिनु नै पर्ने हुन्छ जसका कारण स्टकबाट रगत घट्दै जान्छ ।’

बाँकेमा विभिन्न गु्रपका १ सय ५० पिन्टको हाराहारीमा मात्रै स्टक छ । रगतको माग त्यसका विभिन्न तत्वका आधारमा हुने गर्दछ । त्यसैले कहिले कुन त कहिले कुन ग्रुपको रगत अभाव भैरहेको पाइन्छ । ब्लड बैंकमा रगत उपलब्धता नहुँदा सामाजिक सञ्जालमा समेत रक्तदानका लागि आव्हान हुने गरेको छ । बाँकेमा कम्तिमा १ हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने बताइन्छ ।

ब्लड बैंकमा हाल ३ हजार बढी रगत स्टक गर्ने सक्ने क्षमता छ । पर्याप्त स्टक राख्ने व्यवस्था गरिएपनि त्यस अनुसार रक्तदान नहुँदा आपूर्तिमा समस्या हुने गरेको हो । यद्यपि, पछिल्लो समय रक्तदान गर्ने क्रम बढेको ब्लड बैंक प्रमुख रेग्मी बताउँछन् । ‘व्यक्तिगत, संस्थागत, सामाजिक उत्तरदायित्व निर्वाह लगायत विभिन्न उद्देश्यले रक्तदान गर्ने क्रम बढेको छ, तर चर्को गर्मीमा त्यसखालका कार्यक्रममा कमी आउने गरेको छ’, रेग्मी भन्छन् ।

बाँके मात्रै होइन गर्मीका बेला देशका विभिन्न जिल्लाबाट रगतको अभाव भएको समाचारहरू प्रकाशमा आउने गरेका छन् । ‘हामीले रक्तदाता संस्था र रक्तदाता ग्रुपसँग नियमित सम्पर्कमा छौं’, ब्लड बैंक नेपालगन्जका प्रमुख रेग्मी भन्छन्, ‘हामीले रक्तदानका लागि आव्हान गरिरहेका हुन्छौं ।’ उनले रक्तदान अभिप्रेरित गर्न विभिन्न कार्यक्रमहरू समेत गर्दै आएका बताउँछन् ।

‘स्वस्थ्य संस्था बढ्दै जाँदा रगतको माग बढ्नु स्वभाविक हो । पछिल्ला बर्षहरूमा रक्तदान कार्यक्रमको आयोजना गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । खासगरी अभावको समयमा र एकै दिनभन्दा समय मिलाएर रक्तदान कार्यक्रम हुने हो भने रगतको व्यवस्थापन गर्न सहज हुन्छ’, ब्लड बैक प्रमुख रेग्मी बताउँछन् ।

नेपालगन्ज, खजुरा र कोहलपुर गरी दैनिक कम्तीमा ८० पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । सो माग पूरा गर्न दैनिक जसो सोही मात्रामा रगत संकलन हुने गरी रक्तदानको पनि आवश्यकता रहेको केन्द्रका प्रमुख रेग्मीले बताउँछन् ।

नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगन्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ । रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा १६ हजार ७ सय ८७ पिन्ट रगत वितरण गरेको थियो भने आव २०७९÷८० मा १८ हजार ७ सय ५७ पिन्ट रगत वितरण गरेको थियो । केन्द्रले चालु आवको वैशाखसम्म १५ हजार १९ पिन्ट रगत वितरण गरिसकेको
छ ।

Exit mobile version