‘स्क्यानर’ मेसिन बनाउन संघको पहल

नेपालगन्ज भन्सार कार्यालयमा रहेको स्क्यानर मेसिन महिनौंदेखि प्रयोगविहीन छ । बिग्रिएको भन्दै मर्मत नगरी प्रयोगविहीन बनाइएको मेसिन बनाउने तर्फ सरोकारवाला कार्यालयले चासो नलिएपछि नेपालगन्ज उद्योग वाणिज्य संघको टोली बुधबार भन्सार पुगेर मेसिनको अवलोकन गरेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको टोली प्राविधिक सहित भन्सार पुगेर मेसिनको अवस्था बुझ्ने प्रयास गरेको संघ सम्बद्धले जानकारी दिएका छन् ।

अर्बौ राजश्व असुली गर्ने नेपालगन्ज भन्सार कार्यालयले मेसिन बनाउन चासो नदिएपछि नेपालगन्जका व्यवसायीले लामो समयदेखि मेसिन मर्मतका लागि सरकारका मन्त्री तथा प्रतिनिधिहरूलाई ध्यानाकर्षण गराउँदै आएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले विभिन्न सरकारी निकायमा स्क्यानर मेसिन मर्मत गरेर सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराइसकेको छ ।

बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको नेतृत्वमा पुगेको टोलीले मेसिनको अवस्था हेरेपनि प्राविधिक विषय भएकाले समस्या एकीन हुन नसकेको महासचिव भीम बहादुर रानाभाटले जानकारी दिएका छौं । ‘प्राविधिक लिएर गएका थियौं, तर समस्या एकीन गर्न थप दक्ष प्राविधिक आवश्यक पर्ने देखिएकाले अर्को प्राविधिक व्यवस्था गर्ने टुंगोमा पुगेका छौं’, महासचिव रानाभाटले भने, ‘समस्या एकीन भएपछि मर्मतका लागि यसअघिको प्रयासलाई निरन्तर अघि बढाउने छौं ।’

अध्यक्ष धामीको नेतृत्वमा महासचिव रानाभाट, संघका सदस्य कमल कार्की, सदस्य टिकामणि उपाध्याय, प्राविधिक सन्तोष र बिमल सहभागी टोलीले भन्सार कर्मचारीसँग समेत मेसिनका बारेमा बुझेको थियो ।

‘स्क्यानर मेसिन सञ्चालनमा आए चेकजाँच छिटो र पारदर्शी हुने भएकाले त्यसका लागि संघले पहल गरिरहेको हो’, महासचिव रानाभाटले भने ।
महासचिव रानाभाटले खुला सीमाका कारण भित्रिने अवैध मालसामानका कारण नेपाली व्यवसायी धराशयी भएकाले सीमाका कडा चेकजाँच, छोटी भन्सार सञ्चालन तथा नाकाको खुला क्षेत्रमा भन्सार छली रोक्न कडाईको माग संघले गरिरहेको जानकारी दिए ।

Exit mobile version