बर्दियाको गुलरिया नगरपालिका–१०, रत्नापुरमा १० देखि २४ वर्षीया किशोरीहरूलाई लक्षित गरी यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेर सम्पन्न गरिएको छ ।
क्लबद्वारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा गुलरिया नगरपालिका स्वास्थ्य शाखा र बाँके युनेस्को क्लबको संयुक्त आयोजनामा
सो स्वास्थ्य शिविर संचालन गरिएको हो ।
सो शिविरबाट २७९ जना किशोरी तथा युवा महिलाहरूले महिला विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा बिभिन्न किसिमका सेवा तथा उपचार गराएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए । उनले शिविरमा उपचारका लागि आएका किशोरीहरूले शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरूबाट पाठेघर, गर्भवती जाँच, मनोसामाजिक परामर्श लगायत यौन तथा प्रजनन स्वास्थ्य सेवा लिएको बताए ।
अनुगमनका लागि शिविरमा पुग्नु भएकी गुलरिया नगरपालिकाका उपमेयर साबित्रा गौतमले यस्ता शिविरहरू समय समयमा संचालन गर्नु आवश्यक रहेको जनाउँदै स्वास्थ्य सेवाबाट बन्चित समुदायलाई नियमितरूपमा यस्ता शिविरबाट उपचार सेवा दिन सकिने बताए ।
सोही प्रकारले स्वास्थ्यको पहुँच नपुगेका स्थानीय किशोरीले नेपालमा औषधि उपचार नगराएर सीमावर्ती भारतमा गएर उपचार गराउनु पर्ने बाध्यता रहेकोले यो स्वास्थ्य शिविरबाट धेरैजना लाभान्वित भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए ।
कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ओमकार शाह, पत्रकारहरू, जनप्रतिनिधि लगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्द लामिछानेले बताएका थिए ।
स्वास्थ्य शिविरमा डा. कबिता सिन्हा र डा. आदिति धितालले किशोरीहरूको स्वास्थ्य परीक्षण गर्नु भएको थियो भने अन्य स्वास्थ्यकर्मीले पनि सहयोग गरेका थिए ।