नेपालको मुस्ताङ र भारतको लद्दाखका गुम्बाबारे लिखित पुस्तक सार्वजनिक

नेपालको मुस्ताङ र भारतको लद्दाखमा रहेका गुम्बाहरूमा पाइने कलाकृतिसम्बन्धी पुस्तक ‘तिब्बियन मोनेस्ट्री कलेक्सन्स एण्ड म्युजियम्स्’ प्रकाशनमा आएको छ ।

बज्रबुक्सले प्रकाशनमा ल्याएको पुस्तक लेखकमा अष्ट्रियाका क्रिस्टन लुजेइन्ट्स र बेलायतकी लुईस तीदकट्स हुनुहुन्छ । श्री भाष्करदेव संस्कारित केशचन्द्र कृत पारावत महाविहार संरक्षण समाजका अध्यक्षसमेत रहेका प्रज्ञारत्न शाक्यले गुम्बाको महत्व, अध्ययन र खोजी गर्न पुस्तक महत्वपूर्ण दस्ताबेज रहेको बताउनुभयो । “गुम्बाको विषयमा कमै पुस्तक लेखिएका छन् । यो पुस्तकले अध्ययनशील विद्यार्थीलाई महत्वपूर्ण सामग्री बन्न सक्छ”, उहाँले भन्नुभयो ।

पुस्तकका लेखक क्रिस्टन लुजेइन्ट्सले पाँच वर्ष लगाएर तयार पारेको पुस्तक भारतको लदाखका गुम्बा र नेपालको मुस्ताङका गुम्बाका बारेमा गरिएका अध्ययन समेटिएर प्रकाशन गरेको बताउनुभयो । त्यस्तै गुम्बासम्बन्धी १० जना लेखकका लेखहरू पनि पुस्तकमा समावेश गरिएका छन् । अध्ययनका क्रममा उहाँले पुराना गुम्बाहरूलाई नयाँ प्रविधिको माध्यमबाट प्रस्तुत गर्न खोज्दा निकै चुनौतीहरू खेप्नुपरेको अनुभव सुनाउनुभयो । “गुम्बामा पाइने कलाकौशल सुरक्षित गरी बाक्सामा राख्दा त्यसको सौन्दर्य लुप्त हुने स्थिति छ तर गुम्बा सङ्ग्रालयका रूपमा सुरक्षित राख्दा यसको गरिमा बढ्ने पुस्तकको मुख्य सन्देश छ”, उहाँले भन्नुभयो ।

सोसियल साइन्स बाहाका प्रमुख प्राध्यापक निर्मलमान तुलाधरले गुम्बाको इतिहास, सभ्यता र सौन्दर्य पुस्तकमा समेटिएको बताउनुभयो । कार्यक्रममा श्वस्ती राजभण्डारीले गुम्बा प्राचीन सभ्यताको महत्वपूर्ण आधार भएको र उक्त पुस्तक युवा पुस्ताका लागि उपयोगी हुने बताउनुभयो । बज्र बुक्सका प्रकाशक बिदुर डंगोलले नेपालमा गुम्बासम्बन्धी अध्ययन गरेर तयार पारिएका पुस्तकको अभाव रहेकाले लेखकले ल्याएको उक्त पुस्तक नेपाली समुदायको लागि सुन्दर उपहारका रूपमा आफूले लिएको धारणा राख्नुभयो ।

Exit mobile version