आज किड्स रेस, भोलि टुर दि ठाकुरद्वारा

नेपालगन्ज साइकल फेष्टिबल २०२५ आज बिहीबारबाट नेपालगन्जमा सञ्चालन गरिंदैछ । आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबले फेष्टिबलका सबै तयारी पूरा भएको जनाएको छ ।

बुधबार नेपालगन्ज साइक्लिङ्ग क्लबले पत्रकार सम्मेलन गरी साइकल फेष्टिबलको तयारी पूरा भएको जनाएको हो । ‘हामी नेपालगन्ज साइकल फेष्टिबल अन्तर्गतका सबै इभेन्ट आयोजनाका तयारी पूरा गरेका छौं’, आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटाले पत्रकारहरूसँग भने ।

पत्रकारहरूले अध्यक्ष सापकोटासँग साइकल फेष्टिबल अन्तर्गतको टुर दि ठाकुरद्वाराको भविष्यबारे जिज्ञासा राखेका थिए । ‘बाँके र बर्दियाका पर्यटकीय गन्तव्यलाई विश्वस्तरमा पुर्याउने यो इभेन्टलाई स्थानीय सरकारले अपनत्व लिन सक्नुपर्छ’, नेपालगन्ज उपमहानगरपालिकाको संरक्षकत्व पहिलो दिनदेखि नै रहेको प्रसंग उठाउँदै अध्यक्ष सापकोटाले पत्रकारहरूसँग भने, ‘तर, अन्य पालिकाहरूले यसलाई त्यसरी गम्भीरतापूर्वक स्वीकार गर्न बाँकी नै छ ।’ यद्यपि, ठाकुरबाबा लगायत बर्दियाका कतिपय पालिकाले साझेदारी भने गरिरहेको जानकारी दिंदै अध्यक्ष सापकोटाले विश्वभरबाट साइकल यात्रीहरू नेपालगन्जदेखि ठाकुरद्वारासम्मको यात्रा गराउने ‘टुर दि ठाकुरद्वाराको सातौं संस्करणसम्म आइपुग्दा स्रोत सुनिश्चित हुन नसकेको’ चिन्ता सुनाए ।

नेपालगन्ज साइकल फेष्टिबल अन्तर्गत पहिलो दिन ‘नेपालगन्ज किड्स रेस–२०८१’ आयोजना गरिंदैछ । त्यसका लागि सिद्धार्थ हस्पिटालिटीले मुख्य प्रायोजक बनेर सहयोग गरेको छ । ‘यो तेस्रो संस्करण हो’, किड्स रेस मार्फत बाल मनोविज्ञानमै साइकलको आकर्षण सिर्जना गर्न खोजिएको जानकारी दिंदै अध्यक्ष सापकोटाले भने ।

फेष्टिबल संयोजक सुरेन्द्र दिप कार्कीका अनुसार, आज विहान सुर्खेतरोड प्रहरी तालिम केन्द्रबाट प्रायोजक सिद्धार्थ होटलसम्म फरकफरक दुई श्रेणीका बालबालिका किड्स रेसमा सहभागी हुनेछन् । भोलि शुक्रबार टुर दि ठाकुरद्वाराको सातौं संस्करणमा नेपाल, भारत, चीनका दुई सय बढी साइकल यात्री ठाकुरद्वारा पु्ग्नेछन् । ‘टुर दि ठाकुरद्वाराले नेपाल, भारत र चीनका साइक्लिष्टहरूलाई एउटै प्लेट फर्ममा जोडेको छ’, संयोजक कार्कीले पत्रकार सम्मेलनमा भने ।

नेपालगन्ज साइक्लिङ्ग क्लबका उपाध्यक्ष कविराम बुढाथोकीले पर्यटन प्रवद्र्धनका लागि नेपालगन्ज साइकल फेष्टिबल देशकै महत्वपूर्ण इभेन्टका रूपमा स्थपित हुँदै गैरहेको बताए । तर, त्यसका लागि स्थानीय सरकारको प्रभावकारी सहकार्य आवश्यक रहेको औंल्याउँदै उपाध्यक्ष बुढाथोकीले सञ्चारमाध्यम मार्फत त्यसको एड्भोकेसीका लागि आग्रह गरे ।

क्लब सचिव इन्द्र गिरीका अनुसार, नेपालगन्ज स्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरबाट दुई सय बढी साइक्लिष्टहरू सहर परिक्रमा गर्दै प्रदेश सरकारले घोषणा गरेको घुमौं बर्दिया अभियानलाई आत्मसाथ गर्दैछन् । ‘बागेश्वरी मन्दिरबाट न्यूरोडको बाटो त्रिभुवन, विपीचोक, सुर्खेतरोड हुँदै कोहलपुरबाट ओम केदारेश्वर धाम बाँसगढी, सतखलवा, बैदी, बबई भुरेगाउँ हुँदै ठाकुरबाबा मन्दिरसम्मको झण्डै एक सय किलोमिटर साइकल यात्रा गरिंदैछ’, टुर दि ठाकुरद्वाराको सातौं संस्करणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव गिरीले भने ।

Exit mobile version