बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा आज भिड्दै चार क्लब

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको आइतवारको खेलमा रोयल नेपालगन्ज फुटबल क्लब र न्यु डाँफे स्पोर्टस क्लबले आइतबार जीत हासिल गरेका छन् ।

कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा रोयलले ओशोनिक क्लबलाई २–० ले पराजित गरेको छ । रोयलका लागि सुमित थापाले २ गोल गरे । उनले खेलको ८औं र ५०औं मिनेटमा गोल गरेका थिए । खेलमा रोयलका अविशेख यादव प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।

आइतबार बिहान भएको खेलमा न्यु डाँफे स्पोर्टस क्लबले जय किसान स्पोर्टस क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि विशाल चन्दले निर्णायक गोल गरे । चन्द खेलको प्लेयर अफ द म्याचबाट पुरस्कृत भएका थिए ।

असारको १३ गते सम्म चल्ने प्रतियोगिता लिगकम नकआउटको आधारमा भैरहेको छ । प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।

यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।

समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार बिहानको खेलमा मिलन युवा स्पोर्टस क्लब र नव दुर्गा युवा क्लबबिच प्रतिस्पर्धा हुनेछ । बेलुकाको खेलमा कोहलपुर रेसिङ सहारा क्लब र कारकादो युवा स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुने आयोजक बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले जानकारी दिए ।

Exit mobile version