वन्यजन्तुलाई उनीहरूको बासस्थनमै टिकाउने वातावरण सिर्जना गर्नुपर्ने आइतबार कोहलपुरमा आयोजित एक कार्यक्रममा बताइएको छ । वन्यजन्तु विभिन्न कारणले आफ्नो वासस्थान छाडेर बाहिर निस्कदा मानव–वन्यजन्तु द्वन्द्व सिर्जना हुने गरेकाले उनीहरूलाई बास स्थानमै टिकाउने खालका कार्यहरू आवश्यक रहेको एकीकृत भूपरिधि व्यवस्थापन आयोजना (इलम)ले पत्रकारहरूसंग आयोजना गरेको अन्तरक्रियामा बताइएको थियो ।
अन्तरक्रियामा वातावरण पत्रकार मुकेश पोखरेलले जलबायु परिवर्तन, वन र बन्यजन्तुमा यसको असर, मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरण लगायतका विषयमा प्रस्तुतिकरण राखेका थिए । जलवायु परिवर्तनको असरबाट वातावरणमा हुने परिवर्तनले वन्यजन्युको बासस्थान समेत परिवर्तन हुने गरेको बताउँछन् । तातो हावा, खडेरी, अस्वभाविक बर्षा, आहाराको कमी, पानीको कमी लगायतका कारणले वन्यजन्तु बासस्थान क्षेत्र छाडेर बाहिरिने गरेका छन् । ‘वातावरणीय सन्तुलन मिलाउनका लागि जलवायु संरक्षणका लागि अब ध्यान केन्द्रित हुनुपर्छ’, उनले भने ।
इलमका कोहलपुर कार्यालयका फिल्ड प्रबन्धक प्रकाश थापाले बाँकेमा वन्यजन्तुको संरक्षण र वन्तजन्युबाट घरपालुवा जनावरको नोक्सान नहोस् भनेर विभिन्न खालका कार्यक्रमहरू सञ्चालनमा रहेको जानकारी दिए । उनले सुरक्षित खोर निर्माण, तारजाली निर्माण, भकारो सुधार, सचेतनामूलक कार्य, नर्सरी निर्माण, तटबन्ध निर्माण, वन्यजन्तु व्यवस्थापन तालिम लगायतको कार्य गर्दै आएको जानकारी दिए । उनले इलमले मन्त्रालय मार्फत सम्बन्धित वन डिभिजन कार्यालय मार्फत परियोजनाको कार्यान्वयन गरिरहेको जानकारी दिएका छन् । विशेषगरी बाँके र बर्दियाका सामुदायिक विद्यालय, बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, कम्दी जैविक मार्ग, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कर्णाली नदी जैविक मार्ग र आसपासका समुदायमा मानव, वन्यजन्तु, वातावरणलगायतका क्षेत्रमा परियोजनाले काम गरिरहेको थापाले बताए ।
समशेरगन्ज सब डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले वन्यजन्तु संरक्षण र घरपालुवा जनावरलाई वन्यजन्तुबाट जोगाउन इलमका कार्यक्रम प्रभावकारी रहेको बताए । वन अधिकृत सुवेदीले बाँकेमा वनमा १० वटा पानीको स्रोत निर्माण, २० हेक्टर क्षेत्रमा घाँसे मैदान निर्माण, सामुदायिक वनलाई दिगो वन व्यवस्थापन, सुशासनमा सहयोग लगायतका कार्य गरेको जानकारी दिए । उनले बिरुवाको बढ्दो माग सम्बोधनका लागि नरैनापुर र ढकेरीमा २०–२० हजार क्षमताको नर्सरी निर्माण भैरहेको जानकारी दिए ।
बाँकेको कम्दी जैविक मार्गका ३० घरधुरीलाई सुरक्षित बाख्राको खोर निर्माण गरिएको, वन्यजन्तुबाट अन्नबाली जोगाउनका लागि विभिन्न सामुदायिक वन क्षेत्र र बस्ती क्षेत्रबिच करिब चार किलोमिटर तारजाली निर्माण गरिएको इलमका कोहलपुर कार्यालयका फिल्ड प्रबन्धक थापाले बताए । कोहलपुर नगरपालिकाको दुई वटा सामुदायिक वनमा तीन वटा र राप्तीसोनारी गाउँपालिकाको तीन वटा सामुदायिक वनमा तीन वटा गरी कुल ६ वटा कृत्रिम इलम परियोजना मार्फत निर्माण भएको उनले बताए ।
अन्तरक्रियापछि सिर्जना सामुदायिक वन कोहलपुरमा निर्मित दुई वटा पोखरी पनि देखाइएको थियो । सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुमन पौडेलले चर्को गर्मीमा जंगलभित्रका पानीका स्रोत सुक्दै जाँदा पानीकै खोजीका लागि समेत वन्यजन्तु वन बाहिर बस्तीमा पुग्ने गरेको बताए । उनले पोखरी निर्माणले वन्यजन्तुलाई पानी पिउन सहज भएको बताए ।
इलमका कोहलपुर कार्यालयका फिल्ड प्रबन्धक प्रकाश थापाले इलमले देशका १९ जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिंदै भू–परिधि स्तरमा संरक्षित क्षेत्र र जैविक मार्ग व्यवस्थापन, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन (मानव वन्यजन्तु द्वन्द्व, वन्यजन्तुमैत्री पूर्वाधार विकास कार्यक्रम) दिगो वन व्यवस्थापन, पर्या–पर्यटन, वनमा आधारित जीविकोपार्जन, प्राकृतिक स्रोत व्यवस्थापनमा लैङ्गिक समानता र सामाजिक समोवेशीकरण तथा वातावरण तथा वातावरणीय सुरक्षालगायतका क्षेत्रमा परियोजना केन्द्रित रहेको बताए ।