देशमा आजः ८ बजे ८ खबर

१. मिर्चैया नगरपालिका–७ हिल पार्कमा चुरे संरक्षण दिवसको आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्र मानवीय अतिक्रमणको दुष्चक्रमा पर्दा संकट पैदा भएको बताएका छन् ।

२. करिब ३ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पक्राउ गरेका चार जनालाई आइतबार सार्वजनिक गरेको छ ।

३. प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाउन सुझाव दिएका छन् । विनियोजन विधेयक, २०८१ सम्बन्धी प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले विश्वसनीयता र क्षमताको सुधार, चालु खर्चलाई नियमन साथै अर्थतन्त्रको आकार बढाउने विषयमा ध्यान दिन सुझाव दिए ।

४. चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ । यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

५. नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

६. प्रतिनिधिसभा सदस्य महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीबाट निष्काशित भएका छन् । पार्टीले यादव लगायतहरुलाई पदबाट हटाएको सूचना निर्वाचन आयोगमा अद्यावधिक भएको हो ।

७. नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् नपुगेको बस्तीमा विद्युत् पु¥याउने अभियान चलाएको छ । दाङमा पनि अझै धेरै ठाउँमा विद्युत् नपुगेका ठाउँ पनि रहेको भन्दै ती ठाउँहरुमा विद्युत् पु¥याउने अभियान चलाएको वितरण केन्द्र प्रमुख शिव गोशालीले बताए ।

८. भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ ।

Exit mobile version