जानकी गाउँपालिका वडा नम्वर २ स्थित भैयापुर स्थानीय सडक स्तरोन्नतीको माग गर्दै आन्दोलित भएका छन् । भैयापुरका जनता सडक निर्माण तथा स्तरोन्नती कार्य अलपत्र भएपछि सोमबार आन्दोलित भएका हुन् । स्थानीय नागरिकहरू सोमबार सडक अवरुद्ध गर्दै तत्काल सडक निर्माण कार्य अघि बढाउन माग गरेका छन् ।
बाँकेको क्षेत्र नम्वर ३ परसपुर गौघाट सडक निर्माणको जिम्मा लिएको कन्काई गणपति जेवी ठेकेदार कम्पनीको लापरवाहीले सडक अलपत्र परेको छ । जसले गर्दा यात्रुहरूले निकै सास्ती व्यहोर्नु परेको स्थानीय बताउँछन् ।
‘पछिल्लो समय निर्माण व्यवसायी र जिम्मेवार निकाय एकअर्काको इसारामा चल्दा विकास निर्माणका कार्यले तिव्रता नपाएको हो’, स्थानीयको आरोप छ, ‘जसले गर्दा आम जनताले भने सधैजसो सास्ती झेल्नु पर्ने भैरहेको छ ।’
ठेकेदार पनि सम्पर्क विहीन भएको बताउँदै स्थानीयले सरकारले चासो नदिएको आरोप लगाएका छन् । अलिअलि भएको पिच बाटोलाई समेत भत्काएर अलपत्र पारेर छोडिदिएको उनीहरूको भनाई छ । सडक बाटो निर्माण सुरु नगर्दासम्म बाटो नखोल्ने स्थानीय जनताहरूले चेतावनी दिएका छन् ।
संघीय सरकारको लगानीमा परसपुर गौघाट सडक निर्माणको जिम्मा लिएको कन्काई गणपती जेवी काठमान्डौले २०८१÷५÷२५ गते निर्माण सम्पन्न गर्ने गरी २०७९÷१ ÷२५ गते सम्झौता गरेको थियो । तर अहिलेसम्म पनि सडक निर्माणको काम भने अघि बढाइएको छैन । कुल १३ करोड ४३ लाख २४ हजार ५ सय ९१ रूपैँया ६८ पैसामा ठेक्का सम्झौता भएको थियो ।