कोहलपुरमा जारी बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सोमवार कोहलपुर रेसिङ सहारा क्लबले सहज जीत निकाल्न सफल भएको छ । कोहलपुर रेसिङ सहाराले कारकांदो युवा स्पोर्टस क्लबलाई ४–१ ले पराजित गरेर आफ्नो सहज जीत निकाल्न सफल भएको हो । सोमबारकै अर्को खेलमा मिलन युवा स्पोर्टस क्लब र नवदुर्गा युवा क्लबबिचको खेल १–१ बराबरीमा सकिएको छ ।
प्रतियोगिता अन्तर्गत आज मंगलबारको पहिलो खेलमा पहिलो खेल न्यू डाँफे स्पोर्टस क्लब र रोयल नेपालगन्ज फुटबल क्लबबिच हुनेछ । दोस्रो खेल जय किसान स्पोर्ट्स क्लब र ओशोनिक क्लबबिच हुनेछ ।
बाँकेको कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा कोहलपुर रेसिङको जितमा आयुश घर्तीमगर, हेमन्त घर्तीमगर, ईश्वर श्रेष्ठ, महेश विकले १–१ गोल गर्नु भयो । आयुशले ७ मिनेट, हेमन्तले १२ मिनेट, ईश्वरले १६ मिनेट र महेशले ६०औं मिनेटमा गोल गरेका थिए ।
कारकाँदोका लागि सुदिप केसीले ५२औं मिनेटमा गोल गरे ।
कोहलपुर रेसिङका कप्तान सुनिल थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । थापालाई स्वेता सेनिटरी सुपर लेसका प्रोपाइटर उपेन्द्र बुढाथोकी, शिवशंक्ति नमुना आधारभुत विद्यालयका प्रअ बद्री नाथ सापकोटाले पुरस्कार प्रदान गरेका थिए ।
बराबरीमा सकिएको दोस्रो खेलपछि दुबै टिमले अंक बाढेका छन् । सोमबार सुरुआतमै नवदुर्गाले खेलमा अग्रता लिएको थियो । नवदुर्गाका शंकर दमाईले ६ मिनेटमा गोल गरेर टोलीलाइ अग्रता दिलाए । तर, २३ औं मिनेटमा मिलन युवाका सरोज केसीले गोल गर्दै खेल बराबरी गरे । बराबरी गोल गर्ने सरोज सोमबार बिहानको खेलको प्लेयर अफ द म्याचको रूपमा पुरस्कृत भए । उनलाई समाजसेवी अर्जुन जंग शाहले पुरस्कृत गरेका थिए ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ । लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार, प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।
यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।
समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउने संघका महासचिव कमल खत्रीले जानकारी दिए ।