भोगाधिकार पाएको डेढ दशकपछि भोगाधिकार पाएको जग्गामा बलजफ्ती सडक निर्माण गर्न थालिएपछि नेपाल पत्रकार महासंघ बाँकेले त्यसको विरोध गरेको छ । महासंघले आफ्नो भोगाधिकारमा रहेको जग्गामा सडक निर्माण भैरहेको भन्दै त्यसलाई रोक्न माग गरेको छ । बस्तीका लागि बाटो हुँदाहुँदा बसपार्क सँग जोड्ने नाउँमा पत्रकार महासंघ बाँकेको भोगाधिकार रहेको जग्गामा सडक निर्माण गर्न थालिएको हो । जनप्रतिनिधिकै मिलेमतोमा भोगाधिकारमा रहेको जग्गामा बलमिच्याईपूर्वक सडक निर्माण गर्न थालिएको महासंघ बाँके शाखाका पदाधिकारी बताउँछन् ।
महासंघको भोगाधिकारको जग्गामा अतिक्रमण हुन थालेपछि सोमबार नेपाल पत्रकार महासंघ संघ बाँकेको आयोजनामा पत्रकार सम्बद्ध विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनिधिहरूको बैठक बसेको छ । बैठकले जग्गा संरक्षणका लागि पहल गर्ने निर्णय समेत गरेको छ ।
महासंघले भोगाधिकार पाएको जग्गामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गोपाल पुन, नेपालगन्ज ४ को टोल विकास समितिका अध्यक्ष कर्णबहादुर मल्लको निर्देशन र नेतृत्वमा रहेको समूहले बिना कुनै सहमति रातारात पीसीसी सडक निर्माण गर्ने कार्यको निन्दा र भत्र्सना गरेको छ । ‘विगत दुई वर्ष अघिदेखि यही समूहले बाटो विवाद सिर्जना गर्दा पटक पटक बसेका बैठक र छलफलहरू भएर जग्गा अतिक्रमण रोक्ने प्रतिबद्धता भएको थियो’, महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी र नेपालगन्ज–४ का वडाध्यक्ष गोपाल पुनबीच नगर प्रमुखकै कार्यकक्षमा बसेको बैठकबाट वडाले बजेट विनियोजन गरी सुरु गरेको सडक निर्माण महासंघको जग्गाको सीमानासम्म मात्र गर्ने महासंघको जग्गामा नगर्नु नगराउनु भन्ने नगर प्रमुखको निर्देशन र वडाध्यक्षले प्रतिबद्धता विपरित काम भइरहेको नेपाल पत्रकार महासंघ बाँके शाखाले बताएको छ ।
जग्गा संरक्षणका क्रममा महासंघका पदाधिकारी, कर्मचारी र पत्रकारबिरुद्ध हुलहुज्जत गर्ने, धाकधम्की दिई त्रासको वातावरण सिर्जना गर्ने व्यक्ति र समूहमाथि कारबाही गर्न र पत्रकारको सुरक्षा गर्न समेत महासंघले प्रेस विज्ञप्ति मार्फत माग गरेको छ ।
‘महासंघको जग्गा खण्डित गरी स्थानीय सरकारका जनप्रतिनिधिकै रोहबर र संरक्षणमा जोरजर्वजस्ती अतिक्रमण गर्ने कार्य अख्तियारको दुरूपयोग र कानूनी राज्यको उपहास हो भन्ने हाम्रो ठम्याइ रहेको छ’, महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
बैठकपछि महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘नेपालगन्ज नगरपालिका (हाल नेपालगन्ज उपमहानगरपालिका) ले मिति २०६६ साल भदौ २५ गते सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार नेपाल पत्रकार महासंघ बाँके शाखालाई नेपालगन्ज नगरपालिका–५ (हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४) मा रहेको कित्ता नम्बर ४३ को ०– २–१४१÷२ क्षेत्रफलको जग्गा भोगाधिकारका रूपमा उपलब्ध भई महासंघले दुईवटा भवन निर्माण गरेर कार्यालय सञ्चालनमा रहेको कुरा सर्वविदितै छ ।’
‘महासंघको कार्यालय रहेको जग्गामा एक वर्ष अघि नेपालगन्ज उपमहानगरपालिकाले बजेट विनियोजित गरी पर्खाल लगाउने प्रयास भइरहँदा पनि सोही समूहले अवरुद्ध गरेर जग्गा संरक्षणको कार्यमा बाधा पुर्याइरहेकाले स्मरण गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघको जग्गा संरक्षणको अभियानमा सहयोग गर्न हामी सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, कानून व्यवसायी लगायत सबै सरोकारवाला निकायलाई ऐक्यबद्धताका लागि अपील गर्दै भोगाधिकार पाएको जग्गामा निर्माण भइरहेको सडकको काम तत्काल रोक्न स्थानीय सरकार, प्रहरी, प्रशासन, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका सरोकारवाला निकायलाई गम्भीर ध्यानार्कषण गराउँदछौं ।’
विज्ञप्तिमा नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य, प्रेस यूनियन बाँकेका उपाध्यक्ष कमल खत्री, प्रगतिशिल पत्रकार संघ बाँकेका अध्यक्ष तिलक गाउँलेले हस्ताक्षर गरेका छन् ।