जानकीमा बाँदरको आतंक

बाँकेको जानकी गाउँपालिकामा जङ्गलबाट आउने बाँदरहरूका कारण स्थानीयहरू आतंकित भएका छन् । वडा नम्वर ५ गुरुवागाउँमा बाँदरले बालीनालीमा र खाद्यान्न तथा घरका सामानमा क्षति पुर्याउने गरेको स्थानीय बताउँछन् ।

बाँदरले स्कुले बालबालिका माथि आक्रमण गर्ने गरेपछि स्थानीयहरू त्रसित भएका बनेका छन् ।

केहीवर्षयता बाँकेको जानकी गाउँपापलका वडा नम्वर ५ स्थित गुरुवागाउँमा बाँदरको समुहले आतंक मचाउँदै आएको हो । दिउँसै गाउँटोलमै प्रवेश गरी घरमा भएको सरसामान लैजाने र विद्यार्थीहरूमाथि आक्रमण गर्दा त्रास बढेको स्थानीय बताउँछन् ।

‘घरमा कोही नभएको मौका पारी बाँदरले सरसमान फालिदिने, खाने र लैजाने गरेको छ’, स्थानीय गंगा प्रसाद काँदु भन्छन्, ‘बाँदरको झुण्ड भएका ठाउँबाट आक्रमणको डरले एक्लै हिड्न सक्ने अवस्था पनि छैन ।’ बाँदरले विद्युत तथा इन्टरनेटका तार समेत छिनाल्ने गर्दा स्थानीय आजित भएका छन् ।

‘बालीनाली कुरेर बस्नु पर्ने अवस्था छ’, स्थानीय भन्छन्, ‘बाँदरको आतंक बढिरहँदा पनि नियन्त्रणका लागि कसैले चासो दिएका छैनन् ।’

विद्यालयमा पढाईरहेको समयमा कक्षाकोठामा समेत बाँदर प्रवेश गर्ने गरेका कारण विद्यार्थीहरू आतङिकत भएकाले पढाई समेत प्रभावित भएको आधारभुत विद्यालय गुरुवागाउँ ५ की प्रअ सन्ध्या शर्मा बताउँछिन् । जङ्गलबाट आएका बाँदर नियन्त्रण तथा आरक्षण क्षेत्रमा लैजान उनको स्थानीय सरकारलाई आग्रह छ ।
स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ बाट बढ्दो बाँदर आतंक नियन्त्रणका लागिका नीति तथा कार्यक्रममा यसलाई समेट्ने वडा नम्वर ५ वडा अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादवले बताएका छन् ।

Exit mobile version