ग्रामीण भारतमा भाजपाको मत किन खस्कियो ?

विगत दशबर्षदेखि बहुमतमा सरकार चलाएको भाजपाले यसपटकको निर्वाचनमा सामान्य बहुमत पनि पाउन सकेन । नरेन्द्र मोदीका कामको नाममा ग्यारेन्टी पत्र जारी गरेर चुनावमा होमिएको भाजपाको चमत्कार देखिएन । देशभित्र र बाहिर मोदीको कामका प्रशंसक हुँदाहुँदै पनि उनले बहुमत पाएनन् । सन् २०१४ को चुनावमा ३१ प्रतिशत मत पाएको भाजपाले सन् २०१९ को चुनावमा ६ प्रतिशतले बृद्धि गर्दै ३७ प्रतिशत मत पाएको थियो । ा यसपटकको चुनावमा उसको ०.७ प्रतिशतले मत घटेता पनि संख्यात्मक हिसाबले ६९ लाख मत बढेको छ । सन् २०१४ को चुनावमा ३१ प्रतिशत मताशंबाटै २८२ सीट ल्याउन सफल भएको भाजपा अहिलेको चुनावमा ३६.६ प्रतिशत मत ल्याउँदा पनि २०१४ मा भन्दा ४२ सीट कम २४० सीटमा सिमटियो । यसले भाजपाको चुनावी रणनीतिमा ब्यापक बहस ल्याएको छ ।

भारतीय संसदमा रहेको ५४३ सदस्यको प्रतिनिधित्वमा भारतको ग्रामीण क्षेत्रबाट ३४३ सीटको प्रतिनित्व हुने गर्छ भने शहरबाट २०० सीटको प्रतिनिधित्व रहेको छ । यसपटक भाजपाले शहरमा बढि मत पाएको छ । उसको शहरमा मत २०१९ को तुलनामा ६.५ प्रतिशतले बढेको छ । यो काँँग्रेसको मताशं भन्दा झण्डै दोब्बर हो । तर ग्रामीण भारतमा भाजपाको मत गत निर्वाचनमा भन्दा ४.५ प्रतिशतले घटेको छ । यहि घटेको मतका कारण नै यसपटको निर्वाचनमा भाजपाले बहुमतको संख्या पुर्याउन सकेन ।

शहरमा मत कसरी बढ्यो ?
भाजपाको शासनको पछिल्लो दश बर्षमा भारतले आर्थिक रुपमा प्रगति गरेको छ । देशमा मेक इन इण्डिया कार्यक्रम अन्तर्गत विदेशी लगानी बढेको छ । रक्षा उपकरणहरुको उत्पादन देशभित्रै गर्ने मोदीको नीतिका कारण भारतले आफ्नो रक्षा उत्पादन मात्रै बढाएको छैन रक्षा उपकरणहरुको तेश्रो मुलुकमा निर्यात गर्न थालेको छ । स्वास्थ्य क्षेत्रमा भारतको निकै भरपर्दो संस्था मानिने अखिल भारतीय आर्युविज्ञान संस्था (एम्स) का अस्पतालहरु मोदी सरकार आउनुभन्दा पहिलाको तुलनामा झण्डै दोब्बरले बढेका छन् । भारतको अन्तराष्ट्रिय मञ्चमा जसरी बार्गेनिङ पावर बढेको छ यसले डायस्पोरामा रहेका भारतीयहरुको मान सम्मान पनि बढ्न गएको छ । भारतले सफलता पूर्वक जी–७ को बैठक आयोजना गर्यो । ग्लोबल साउथको एजेण्डा सहित ब्रीक देशहरुको फोरमा भारतको दर्बिलो मात्रै होइन असरदार उपस्थिति रह्यो । वैश्विक अर्थतन्त्रको गणनामा सन् २०१४ मा दशौं स्थानमा रहेको भारतको अर्थतन्त्र यसबिचमा भारतलाई झण्डै २ सय बर्ष उपनिवेश बनाएको ब्रिटेनको अर्थतन्त्रलाई उछिन्दै पाँचौ. स्थानमा आयो । यद्दपि भारतको आफ्ना छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध रहन सकेन तर यूरोप र अमेरिकासँग आफ्नो देशको हितमा रहेका मुद्दामा भारतले कमजोर हुन परेन । युक्रेन युद्ध पछि रुससँग सम्बन्ध राख्ने देशहरु संसारभर अमेरिकी प्रतिबन्धको मारमा परिरहेका बेला पनि भारतले खुलेआम रुससँग सम्बन्ध मात्रै राखेन एस–४०० रक्षा उपकरणको सम्झौता कायम राख्यो । रुसबाट कच्चा तेल खरिद गरिरह्यो । तर अमेरिका र नाटो देशहरुको बिभिन्न दबावका सामु भारतले कुनै प्रतिबन्धको भोग्नु परेन । यो घटना चानचुने थिएन । यो घटनाले भारतको अन्तराष्ट्रिय छविको दबदबा पुष्टि गरेको थियो ।

यी सबै घटनाहरुलाई भारतका शहरिया मतदाताहरुले राम्रोसँग नियालिरहेका थिए । भारतको सधैं विदशीका सामु लत्रिएको हेरे भोगेका स्वाभिमानी भारतीयहरुका लागि गत दशबर्षमा भाजपा सरकारको काम गर्ने शैली र यसको प्रभावबाट बढेको भारतीयहरुको स्वाभिमान शहरिया मतदाताहरुका लागि प्रिय बनेका थिए । भाजपा सरकारका पालामा बनेको इज डुयिङ बिजनेसको वातारण र शहरमा रहेको गुण्डाराजमा आएको कमिले शहरिया मतदाताहरु प्रभावित रहेका थिए । यो नै भाजपाको शहरमा मताशं बढ्ने कारण बनेको देखिन्छ ।

भाजपाको कुन कामले निराश गरायो ग्रामीण भारतका मतदातालाई ?
भारतको ग्रामीण भेकमा भाजपाको मत गत २०१९ को निर्वाचनमा भन्दा ४.५ प्रतिशतले घट्यो । यो मत घट्नुका पछाडीका कारणहरु बिभिन्न बिश्लेषणमा फरक फरक दिने गरिएका छन् । भाजपाका केहि कार्यकर्ता र भाजपा गठबन्धन भित्रका दलका नेताहरुले भाजपाले चुनावी अभियानका बेला लिएका केहि रणनीति र प्रचारलाई विपक्षीले आफु अनुकुल व्याख्या गरेर गाउँ गाउँमा प्रचार गरेका कारण भाजपाले हारेको भन्ने गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले त सार्वजनिक मञ्चबाटै भाजपाको ४०० पारको नारा प्रतिउत्पादक भएको प्रतिक्रिया नै दिएका छन् । उनको भनाइमा कतै न कतै सत्यता पनि देखिन्छ । मोदीले चुनावी रैलीहरुमा पटकपटक भाजपा ३७० र गठबन्धन ४०० पार भन्ने गरेका थिए । यो संख्या भनेको भारतको संसदमा संविधान परिवर्तन गर्न सक्ने संख्या हो । यसलाई विपक्षीहरुले भाजपाले संविधान परिवर्तन गर्न यति सीट खोजेको भन्ने अर्थमा प्रचार गर्दै संविधान बचाउ अभियान नै चलाए । संविधान संशोधनबाटै आरक्षणलाई खतम पार्छ भन्ने प्रचार गरे । कतिपय राज्यहरुमा मुस्लिमहरुलाई दिइएको ४ प्रतिशत आरक्षणलाई बन्द गर्ने चर्चाले यसमा मुस्लिम मतदाता विपक्षको खेमामा गए । राहुल, ममता, लालुहरुले भन्ने गरेको भाजपाको हिन्दुराष्ट्रको एजेण्डालाई यति मत चाहिएको हो भन्ने कुरा ग्रामीण भारतमा रहेको राष्ट्रिय सोचभन्दा स्थानीय र जातिय सोचमा रहेको मतदाताले विश्वास गरिदियो । अर्को कारण मोदी सरकारले ल्याएको सेनामा अग्निवीर योजना भारतीय सेनामा जाने ग्रामीण क्षेत्रका युवाहरुका लागि ग्राह्य हुन सकेको थिएन । यूपी, बिहार, बंगाल, राजस्थाान, पञ्जाब आदि राज्यहरुबाट उसैपनि ठूलो जनशक्ति सेना र अर्धसैनिक बलमा जाने भएको हुँदा यस क्षेत्रमा विपक्षीले आफ्नो सरकार आएमा यो योजना नै खारेज गर्ने मुद्दा उठाएर भाजपालाई कमजोर बनाउने काम गर्यो । मुस्लिमको ठूलो जनसंख्या यूपी, बिहार र बंगालमा रहेको छ । कुल मुस्लिम जनसंख्याको आधाभन्दा बढि जनसंख्या रहेको यूपी बिहार र बंगालमा लोकसभाका चुनाावमा निर्णायक मत हुने गर्छ । विपक्षीले एनआरसी, सीएए समान नागरिक संहिता, आरक्षण जस्ता मुद्दा मुस्लिम बिरोधी हुन भन्ने न्यारेटिभ करोडौ मुस्लिम मतदाताहरुमा स्थापित गराउन सफल भए ।

गत चुनावमा भाजपालाई मतहाल्ने महिलाहरुलाई काँग्रेसले ल्याएको मासिक ८,५०० सिधै महिलाहरुको खातामा आउने योजनाले प्रभावित तुल्यायो । खटाखट बार्षिक एकलाख सित्तैमा खातामा आउने सस्तो लोकप्रियताको नारा र यसको ग्यारेन्टी कार्ड भन्दै गाउँगाउँमा गरिएको प्रचारले पनि भाजपाको मतप्रतिशतमा असर गरेको निष्कर्ष निकाल्नेहरु पनि छन् । राष्ट्रिय मुद्दासँग खासै सरोकार नराख्ने ग्रामीण मतदातालाई विपक्ष पार्टीहरुका केहि लोभ्याउने नाराले आर्कषित गरेको र स्वयं भाजपाको महत्वकांक्षापूर्ण ठूला र राष्ट्रिय हितका कुराले नछोएको असर भाजपाको मताशंमा परेको छ । अर्केतिर समाजवादीहरुले संघ र भाजपाको नीति बाहिर जातिय जनगणनाको कुरालाई उठाएर बिभिन्न जातिय समाजमा हिस्सेदारी बढाउने कुरालाई जातिय राजनीतिले डोमिनेन्ट गरेको ग्रामीण भारतमा विपक्षलाई उर्जावान बनााउन निकै काम गर्यो ।

मोदी योगीप्रति अनुदार बन्दै गएको संघपरिवार भाजपाको हारको अर्को कारण हो । मोदीले कतिपय निर्णयहरु उसको सल्लाहकार संस्था राष्ट्रिय स्वयंसेवक संघको इच्छा बिनै गरेको आरोप लाग्ने गरेको थियो । उता मोदीले योगीलाई आफ्नो उत्तराधिकारीको रुपमा अघि सारेको छनक दिएका कारण संघ परिवार बाहिरका योगीलाई ठाउँमा ल्याउन संघले यसपटको चुनावमा योगीकै राज्यमा भूमिका खेलेको मानिन्छ । उत्तर प्रदेशमा भाजपाको २९ प्रतिशत, राजस्थानमा १० प्रतिशत, हरियाणा र बिहारमा ५–५ प्रतिशत समग्रमा मत घटेको छ । यो मत लगभग सबै ग्रामीण क्षेत्रमा नै घट्नुको कारणहरु मध्ये यो पनि मानिन्छ ।

भारतीय जनता पार्टीको विगत दश बर्षको उकालो यात्रामा अनुमान विपरित यसपटक ब्रेक लागेको छ । भाजपाको यसरी बहुमत भन्दा ३२ सीट कम आउँछ भन्ने भारतीय राजनीतिलाई नजिकबाट नियालिरहेकाहरुले समेत अनुमान लगाउन सकेका थिएनन् । सामान्य बहुमतसम्म आउने तर भाजपाले भनेजस्तो ३७० सीट नआउनेमा धेरै जसो पूर्वानुमानकर्ताहरु रहेका थिए । सबै सर्वेहरुले पनि त्यतैतिर संकेत गरेको थियो । तर यी सबैकुरा धरातलमा स्थापित हुन सकेनन् । यसको मुख्य कारण नै ग्रामीण भारतीय मतदातामा भाजपा प्रति उब्जे उब्जाइएको शंका, विपक्षीका बिभिन्न न्यारेटिभहरु रहेका छन् । भाजपा बिशेष गरेर मोदीको कतै न कतै बढ्दै अति आत्मविश्वासलाई ग्रामीण र मुस्लिम मतदाताले बिराम लगाइ दिएका छन् ।

Exit mobile version