कोही किन नक्कली पत्रकार बन्छ ?

रोमन म्यागसेसेद्धारा सम्मानित पत्रकार रविश कुमारले दुई वर्षअघि हिमाल मिडिया मेला काठमाडौंमा बोल्दै व्यंग्य गरेका थिए, यो बहुत सजिलो पेशा हो । तरकारी नबेचेरै तरकारीवाला बन्न सक्नुहुन्न । तर तपाई सूचना नदिएरै पत्रकार बन्न सक्नुहुन्छ ।

प्राविधिक रुपले मात्रै हेर्ने हो भने सूचना खोज्ने र संकलन गर्ने, सूचनालाई तथ्यको तराजुमा तौलने, तथ्यले पुष्टि भएका सूचनालाई संश्लेषण गर्ने र तयार भएको सूचनालाई पुर्याउनुपर्ने मान्छेहरुसम्म पुर्याईदिने मान्छे पत्रकार हो । सिके लालका विचारमा यो परिभाषाले तोकेको भूमिका महाभारतकालीन हो । जसरी सन्जयले युद्धको सूचना र वर्णन राजालाई सुनाउँथे त्यतिमै सीमित भूमिका हो यो । लाल भन्छन्, मिडियाको भूमिका अहिलेपनि त्यही छ जे आजभन्दा हजारौँ वर्षअगाडि थियो । र त्यो भूमिका हो सत्तालाई सकेसम्म सत्यतथ्य सूचना उपलब्ध गराएर यथास्थितिको पृष्ठपोषण गर्नु । (मिडिया अध्ययन, २०६८) पत्रकारिताको वर्तमान समयमा भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा मन्थन भएको छ, हुँदै छ, हुँदै जाला ।

यस लेखमा पत्रकारिताको प्राविधिक र महाभारतकालीन कर्म पनि नगर्ने तर पत्रकार नै भइरहन मान्छे किन चाहन्छ ? भन्ने विषयमा एक पत्रकारिताको विद्यार्थीले देखेभोगेको कुराको टिपोट मात्रै गर्न खोजिएको हो । यो लेख बाँके जिल्लाका सन्दर्भमा मात्रै सीमित छ । अन्यत्र मेल खान गएमा संयोग मात्रै हुनेछ । यो टिपोट गर्नुको उदेश्य जो पत्रकारिता नगरेर पत्रकार हुँ भनिरहेका छन्, उनीहरु पत्रकार होइनन्, उनीहरुले गरेको कुकर्मलाई आधार बनाएर पत्रकारितालाई नै हेर्ने दृष्टिकोण खराब नबनाऔँ है भन्ने आग्रह गर्न खोजिएको हो । किनभने रविश कुमारले भनेजस्तै यहाँ पत्रकारिता नै नगर्नेहरुले पत्रकारकै नाममा अपराधकर्म गरिरहेका छन् । त्यसबाट बदनाम छ, पत्रकारिता पेशा । पंक्तिकारले करिब एक दशकअघि पत्रकारितामा अभ्यास गर्न थालेयता नै यस्ता मान्छेहरु देखेको, भेटघाट र कुराकानी भएका प्रायः मान्छेहरुबाट उनीहरुबारे सुन्न थालेको थियो । त्यो क्रम अहिले घनिभुत भएको छ । अहिले मानिसहरुसँगको प्रायः भेटमा पत्रकार हुँ भनेर परिचय दिएपछि तिनै छद्मरुपीहरुको चर्चा सुन्नुपरेको छ । पंक्तिकार तिनिहरु पत्रकार होइनन् होला भन्छ । चर्चा गर्नेहरु, होइन हौ, पत्रकार नै हुन् भन्छन् । मुखले बोलेर सम्झाउँदा सम्झाउन नसकेपछि लेखेरै भन्छु भन्ठानेको हो ।

यो लेख तयार गर्दासम्म बाँके जिल्लामा मात्रै करिब दुई सय ७ जना पत्रकार रहेका पत्रकार महासंघ बताउँछ । अझ राजनीतिक आस्थावान संगठनहरुसँग आफ्नै सूची छ पत्रकारहरुको । कुनै संगठनको सदस्य हुँदैमा उ पत्रकार हुन सक्दैन । कसैले स्वघोषणा गर्दा पनि उ पत्रकार भइहाल्छ भन्ने हुँदैन । कुरो उही, तपाईं तरकारी नबेचिकन तरकारीवाला बन्न सक्नुहुन्न ।

त्यसैले न पत्रकार महासंघलाई पत्याउनुस्, न कुनै आस्थावान संगठनलाई । यी सबै ढाँटिरहेका छन् । ती संगठनहरुमा राजनीतिक अभिष्ट पूरा गर्नेहरुको हालीमुहाली छ । उनीहरुलाई पत्रकार होइन भीड चाहिएको छ । चुनाव जित्नु छ । त्यसैले पत्रकारहरुको नेतृत्व गरिरहेको झाँसा दिएर सारा समाजलाई धोका दिइरहेका छन् यी संगठनहरुले । उनीहरु आआफ्ना राजनीतिक शक्ति र सत्ताको सेवामा तल्लीन छन् । ती संगठनमा च्यापिएर कतै कुनामा बसेका पत्रकारहरु चाहीँ चिन्नुहोला ।

आखिर कसैलाई किन पत्रकारिता नगरिकनै आफूलाई पत्रकार भनिरहनु परेको होला ? तपाईं पनि यो प्रश्नमा घोत्लिनुभएकै होला । उत्तर पनि तपाईंले फेला पार्नुभएकै होला । आउनुहोस्, उत्तरहरु भिडाऔँ है त । उत्तर उदाहरणसहित दिएको छु । उदाहरणमा उ मात्रै लेखिएपनि कुरा उनीहरुको हो है ।

कारण १ ः अतिरिक्त शक्ति ।
उदाहरणः उसले अहिलेसम्म पत्रकारिता गरेको छ भनेर कसैले पत्याउँदैन । तर, उसलाई उसको पार्टीले पत्रकारको नेतृत्वको ठेक्का दिएको छ । पत्रकारको संगठनमा कसलाई नेतृत्वमा ल्याउने, कसलाई नल्याउने उसले नै निर्णय गर्छ । पत्रकारहरु पनि उसलाई खुरु खुरु मान्छन् । उसको दलका नेताहरुले पत्रकार भनेर उसैलाई खोज्छन् । उसैले केन्द्रका नेताहरु जिल्लामा आएका बेला आफ्नो संगठनबाट प्रेस मिट गराउने चाँजोपाँजो मिलाउछ । चुनावहरुमा प्रोपगाण्डा फैलाउने ठेक्का उसैले पाउँछ र पत्रकारहरुलाई परिचालन गर्छ । उसैले मिडियाहरुमा पत्रकारहरुलाई जागिर लगाइदिने ताकत राख्छ ।

उ होटलमा पत्रकारको नेताको धाकमा उधारोमा रक्सी पनि खान्छ । उसले सिडिओदेखि एसपीको क्वाटरमा बसेर रक्सी खाने हैसियत राख्छ । भन्सार छलिदेखि तस्करीवापतको भाग उसले पनि पाउँछ । सरकारी अफिसहरुमा पेट्रोलको खर्च माग्न सक्छ र पाउँछ पनि । हाकिमहरु पनि उसको नामबाटै प्रभावित हुन्छन् । उसले भनेको कुरा प्रायः टार्दैनन् । अनि तिनै होटलवाला, सरकारी हाकिमहरु र तपाईंहरु पनि पंक्तिकार भेट भएका बेला गरिदिनुहुन्छ उसैको चर्चा र लज्जित बनाउन खोज्नुहुन्छ । उ पत्रकार होइन भन्छु, तपाईं हो भन्नुहुन्छ ।

कारण २ ः परिचयको दुरुपयोगबाट असीमित लाभ
उदाहरण ः उ कुनै समयमा पत्रकारिता गथ्र्याे । तर, अहिले अर्कै पेशा गर्छ । एनजिओ चलाउँछ, व्यापार गर्छ, स्कुल चलाउँछ या अरु केही । उसको पुरानो असल कर्मको स्वभाविक लाभ उसले पाउनु नै पर्छ । तर, उ पत्रकारको पुरानो परिचयको दुरुपयोग वा दवाबमा सरकारी योजना तथा कार्यक्रमहरु, ठेक्कापट्टाहरु आफू र आफ्नो नजिकका व्यवसायमा ल्याउन सफल हुन्छ । त्यसो नगरे खुइल्याईदिने धम्की दिन्छ । उसकै आडमा र संरक्षणमा अवैद्य कर्म गर्ने धन्दाहरु सन्चालनमा हुन्छन् । ती धन्दाहरुमा सरकारी अधिकारी र नेताहरुको अप्रत्यक्ष समर्थन र साथ हुन्छ । भन्सारदेखि अस्पतालसम्म अवैद्य कर्ममा त्यो पूर्व पत्रकारले सेटिंग मिलाउँछ । अनि तपाईंहरु उ पनि पत्रकारै हो भन्नुहुन्छ । म भन्छु, पत्रकार हुनलाई पत्रकारिता गरिरहेकै हुनुपर्छ । तपाईं पत्याउनुहुन्न ।

कारण ३ ः सत्तासिन र कर्मचारीतन्त्रको अवैद्य साँठगाँठ
उदाहरण ः अहिले स्थानीय तहमा बजेटको ओइरो छ । खराब नियतका कर्मचारीहरु प्रायः स्थानीय तहमा छन् नै । विज्ञापन र सुचनामा पनि प्रतिशतका हिसाबले कमिसन माग्ने कर्मचारीहरु छन् । विज्ञापन र सूचना दिँदा कुनै मापदण्ड छैन । जसको चिनाजर्ची छ र कमिसन बढी मार्जिनमा जसले दिन्छ उसैले विज्ञापन पाउँछ । अनि उसले यो कुरा थाहा पाउँछ । एउटा अनलाइन पोर्टल बनाउन लगाउँछ । एउटा कार्ड बनाउँछ प्रेस लेखिएको । पुग्छ तीनै कर्मचारीसामू, पत्रकार बनेर । उसलाई केही पैसावालहरुले पनि संरक्षण गरेजस्तो गर्छन् । जनप्रतिनिधिहरुको पछिपछि लाग्छ । गुनगान गाउँछ । उनीहरुको पहुँचको दुरुपयोग गर्छ । जनप्रतिनिधि पनि उसलाई साथमा राख्दा फाइदा देख्छन् ।

उसले एउटा राम्रो फेसबुक स्टाटस बराबरको समाचार पनि लेख्न पनि धौ धौ पर्छ । कर्मचारीले लेखिदिएको समाचार अनलाइनमा पोष्ट गर्छ । अनि दिनभरी धाउँछ, सरकारी कार्यालयहरु । उसलाई विज्ञापनबाट पैसा आए पुग्छ, चाहे जति आओस् । कार्यालयका हाकिमहरु पनि कमिसनको मोटो मार्जिन देखेपछि खुसी हुन्छन् । उसैले पाउँछ, स्थानीय सरकार र सरकारी कार्यालयका विज्ञापन तथा प्रचारका कामहरुको विज्ञापन गर्ने ठेक्का । असली पत्रकार र मिडिया हाउसलाई भने नियमअनुसार आउनुपर्ने विज्ञापन पनि पाउन कठिन हुन्छ ।

फेरि तिनै कर्मचारी र जनप्रतिनिधिहरु पंक्तिकार भेट भएको बेला उसैको कुरा काटेर आफूलाई भिक्टिम देखाउन खोज्छन् । पत्रकारले दुःख दिए भन्छन् । कठै ।

कतिपय इमानदार कर्मचारीहरु पत्रकार नामका मान्छेहरुबाट तर्सिने स्थिति नभएको पनि हैन । खै कताबाट, कहिल्यै नामै नसुनेको मिडियामा विज्ञापन छापिएको भन्दै टेबलमा आइपुग्छ बिल । न सम्झौता गरिएको हुन्छ, न छाप्नुपूर्व जानकारी दिइएको हुन्छ । अब भुक्तानी कसरी दिनु । जब भुक्तानी दिन नसकिने भनिन्छ । अनि लामो निवेदन आउँछ सूचना माग गरिएको । जसमा वर्षभरीका प्रायः सबै योजनाको बारेमा सूचना दिन भनिएको हुन्छ । निवेदन पनि अलग अलग इमेल आइडिबाट अलग अलग मिडियाका नाममा आउँछ । तर व्यहोरा उस्तै ।

अब ती निवेदनको जवाफ नदिउँ कानुनले अनिवार्य गरेको छ । दिने हो भने सबै काम छोडेर एक हप्ता त्यही निवेदनको उत्तर दिन समय लाग्छ । यसरी नागरिकहरुको थाहा पाउने हकको सुनिश्चितता गर्न ल्याइएको सूचनाको हकको दुरुपयोग पनि नक्कली पत्रकारले गरिरहेका छन् । ती कर्मचारीले सुनाइहाल्छन्, हेर्नुहोस्, यस्ता छन् पत्रकार । म भन्छु, ती ठगहरु हुन् । पत्याउन्नन् ।

कारण ४ः भाइरल हुने रहर, माइक देखेपछि फुर्किहाल्ने समाज र हच्कीहाल्ने राज्य
उदाहरण ः मोबाइल स्टुडियो हो, क्यामेरा हो, रेकर्डर, टिभी, पत्रिका, रेडियो सबै हो । अनि सामाजिक सन्जालले रातारात मान्छेलाई भाइरल बनाइदिन्छ । यसको प्रभावबारे अनुमान पनि गर्न नसक्ने मान्छेलाई सेलिब्रिटी बनाइदिन्छ । उसले यो कुरा थाहा पायो ।

अनि एउटा युट्युव च्यानल खोल्यो, एउटा फेसबुक पेज खोल्यो, एउटो क्यामेरा र बुम जोड्यो । कुदिहाल्यो मुखमा माइक ठुस्न । व्यक्तिको वैयक्तिक स्वतन्त्रताको समेत ख्याल नगरी र्याखर्याख्ती पार्याे ।

घर झगडाका कुरा, स्वास्नी पोइल गएको, श्रीमानले अर्कै श्रीमति लगेर भागेको, कसैले अन्टसन्ट बोल्ने गरेको थाहा पाउनेबित्तिकै दौडेर पुग्यो । नाबालक छोराछोरीलाई अगाडि राखेर रोएको कराएको भिडियो बनायो । पोष्ट गर्याे । भाइरल भयो । ती नाबालक र मिडियाको प्रभावबाट बेखबर मान्छेहरुलाई थाहा छैन, यसको प्रभाव कस्तो हुन्छ । उनीहरुलाई भोली बुझ््ने भएपछि त्यही कुराले कस्तो असर गर्छ, त्यसको ख्याल कहाँ । उनीहरुको सामाजिक प्रतिष्ठाको सम्मान त झन् परको कुरा । कोही बलात्कारी भाइरल भइरहेको छ भने उसैका विषयमा भिडियो बनाएर भाइरल बनाएको छ । अन्धविश्वास, सामाजिक विभेदलाई बढावा दिने मान्छे वा जो सुकै होस्, भ्युज आउनेजस्तो लाग्यो पोस्ट्याइहाल्यो । उसलाई तथ्य र सामाजिक उत्तरदायित्व भन्नेकुराको भेउसमेत हुँदैन । अनि तपाईं भन्नुहुन्छ, यस्ता पनि छन् पत्रकार ।

तर, यहाँ भाइरल शब्दमा तपाईंले आफूलाई चाहीँ देख्नुभएन । उसलाई भाइरल बनाइदिने तपाईं पनि हैन ? अनि मैले उ पत्रकार होइन भनेको तपाईं कसरी पत्याउनुहोस् ?

अर्काेथरी उ छ । उसँग कार छ । कारमा केही साथीहरु बोकेर हिड्छ । युट्युवमा पछाडि टिभी भनेर नाम लेखिएको च्यानल बनाएको छ । अनि उ देश दौडाहामा हिड्छ । प्रत्येक स्थानीय तह र वडा कार्यालयमा पुग्छ । कर्मचारी र जनप्रतिनिधिहरुलाई अन्तर्वार्ता दिनका लागि हत्तु गर्छ । अन्तवार्ता युट्युवमा आइसकेपछि त्यसैलाई भिडियो डकुमेन्ट्री बनाइदिएको भनेर रकम माग गर्छ । त्यहाँ पनि कमिसनको मार्जिनको कुरा न हो । कर्मचारी पनि राजी, जनप्रतिनिधि पनि राजी ।

उसले भनेको कुरा नपुर्याइदिए अन्टसन्ट बोल्दै लाइभमा आउनसक्छ । बेइज्जत गराइदिन सक्छ । उस्तै परे गल्तीको पोल पनि खोल्दिन सक्छ । यही सोचेर पनि कर्मचारी, जनप्रतिनिधिहरु उसलाई पनि पत्रकार मानेरै बसेका छन् । सेवा सत्कार गरिरहेका छन् । फेरि यीनै कर्मचारी, जनप्रतिनिधिहरु पंक्तिकारसँग भेट भएको बेला नाक खुम्च्याएर उसकै चर्चा गर्छन् । उ पत्रकार होइन भन्छु, हो नै भनेर जिद्धि गरी बस्छन् ।
…..
पत्रकारिता पेशामा गेट छैन । तर पेशाका आफ्नै मापदण्डहरु छन् । ती मापदण्डका सीमाहरु प्रविधिको बिस्तारले मधुरा भएका छन् । अहिले हरेक मान्छे आ आफ्नो समस्याको प्रवक्ता आफै हुन पाउने र आफ्नो अभिव्यक्ति कसैको भर नपरी दिनसक्ने समय आएको छ । त्यसैले बोल्ने, क्यामेरा बोक्ने, माइक बोक्ने, प्रेस लेखिएको आइडि कार्ड बोक्ने सबै पत्रकारै हुन् भन्ने सामान्य नजरमा लाग्नु स्वभाविक हो । तर, असली पत्रकारिताले नागरिकलाई सूसुचित र सुशिक्षित हुन मद्धत गर्छ, न्याय, समानता र नागरिकको अधिकारका कुरा गर्छ, राज्यको निगरानी गर्छ र उसका कमीकमजोरीमा जवाफ मागेर नागरिकप्रति उत्तरदायी बनाउन भूीमका खेल्छ, समाजको सबैभन्दा कमजोर वर्गको हितका लागि आवाज उठाउँछ । यसबाट समाज प्रत्यक्ष प्रभावित हुने, यसको असर बहुआयामिक हुने र हामी सबैको जीवनसँग यसको सम्बन्ध रहेको हुँदा अलि बढी मिहिनत गरी पत्रकारिता के हो र के होइन ? भन्ने धारणा स्पष्ट गर्नु सचेत नागरिकको कर्तव्य हुन आउँछ । राज्यमा बसेकाहरुले माथि उदाहरण दिइएका जस्ता मान्छेहरुलाई पत्रकार मानेर पालिराख्ने र यसैको आडमा झन् ठूला भ्रष्टाचार गर्ने वातावरण बनाउँछन् । यो कुरा चिनौँ । उनीहरुलाई चिनौँ ।

Exit mobile version