बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले उपभोक्ता अधिकार संरक्षणका लागी नियामक निकाय ‘प्रोएक्टीव’ हुनु पर्नेमा जोड दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँके, फियान नेपाल, उपभोक्ता हित संरक्षण मञ्च र खाद्य अधिकार संजालको संयुक्त आयोजनामा भएको उपभोक्ता, खाद्य अधिकार र बजार अनुगमन बिषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले स्वच्छ बजार र उपभोक्ता अधिकारका लागि उपभोक्ता सचेत हुनुका साथै ब्यवसायी जिम्मेवार बन्नु पर्ने जोड दिएका थिए । सबैले देखेका ठाउँमा आ–आफनो तर्फबाट जिम्मेवारपूर्वक काम गरेको खण्डमा उपभोक्ता अधिकार संरक्षण हुने बताउँदै रिजालले बजार अनुगमनलाई प्रभावकारी बनाउन सबै पक्षलाई समेट्ने बताए ।
कार्यक्रममा सहायतक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ्गले संयुक्त बजार अनुगमनबाट उपभोक्ता अधिकारको संरक्षण र स्वच्छ बजारका लागी मद्दत पुगेको बताए ।
कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतमले उपभोक्ताले अझै पनि गुणस्तरिय बस्तु तथा सेवा पाउन नसकेको, बजार अस्वच्छ र अनियमित भएकाले नियमनकारी निकायको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिए । बजार अनुगमन संख्यात्मक भन्दा पनि गुणात्मक र सुधारात्मक हुनुपर्नेमा जोड दिदै गौतमले बजार अनुगमनबाट के कति कुन क्षेत्रमा सुधार भयो भन्ने कुराको विष्लेषण गरिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै फियान नेपालका नेपालगन्ज कार्यालय प्रमुख सुरेश कुमार गौतमले खाद्य अधिकार र उपभोक्ता अधिकार संरक्षणका लागी सबै जिम्मेवार निकायको भूमिका प्रभावकारी हुनु पर्ने बताए । कार्यक्रममा कृषि, औषधी, घरेलु, बाणिज्य, खाद्य प्रबिधि तथा गुण नियन्त्रण, नापतौल लगायतका बिषयगत कार्यालयका प्रमुखहरूले आ आफनो कार्यालयबाट भएका बजार अनुगमन र त्यसले स्वच्छ बजार कायम राख्न पारेको प्रभावका बारेमा बोलेका थिए ।
कार्यक्रममा उपभोक्ता हति संरक्षण मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरी अधिकारकर्मी मैमुना सिद्धिकी, शाहिदा शाह, धु्रव शर्मा लगायतले बजारमा दुध मासु, लगायतका खाद्य बस्तुको गुणस्तरमा समस्या रहेको भन्दै सुधारको आवश्यकता औल्याएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका बिषयगत नियमनकारी कार्यालयका प्रमुख, उपभोक्ता अधिकारकर्मी, पत्रकार उपभोक्ता लगायतको सहभागिता रहेको थियो । बजार अनुगमनलाई प्रभावकारी बनाई उपभोक्ता अधिकारको संरक्षण र स्वच्छ बजारका लागी आपसी समन्वय र सहकार्य गर्दै निरन्तर कार्य गर्दै जाने निर्णय भएको उपभोक्ता अधिकारकर्मी बसन्त गौतमले बताए ।