काटियो बाटोको काँडेतार

मूल बाटो नै छेकिने गरी काँडेतार लगाएपछि सञ्चारमाध्यम मार्फत न्यायको गुहार लगाएकी नेपालगन्ज–१८ की लक्ष्मी शर्माको घर जाने बाटो खुलेको छ । नेपालगन्ज उपमहानगरपालिकाले शर्माको घरजाने बाटोमा छिमेकीले लगाएको काँडेतार हटाउने निर्णय गरेपछि बाटो खुलेको हो । नगर प्रमुख स्तरीय निर्णयबाट भएको निर्देशन पालना गर्दै नगर प्रहरीले बुधबार दिउँसो काँडेतार काटेको थियो ।

‘नेपालगन्ज उपमहानगर–पालिकाले मेरो निवेदन उपर सुनुवाई गरेर न्याय दिएको छ’, शर्माले घरजाने बाटो खुलेको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भनिन्, ‘यस टोलमा रहेका व्यक्तिका नामका सबै बाटोलाई स्थानीय सरकारले आवश्यक प्रक्रिया पुर्याएर सरकारीकरण गर्न ढिलो गर्नु हुँदैन ।’

आफ्ना नाममा रहेको बाटोमा छिमेकी कोशल राज नेपालले काँडेतार लगाएपछि शर्माले पत्रकार सम्मेलन गरी निकास बन्द हुँदा आफु घर भित्रै बन्धक सरह रहनु परेको गुनासो गरेकी थिइन् ।

उपमहानगरपालिकाको निर्णय उपर नेपालले भने आपत्ति जनाएका छन् । ‘एकातर्फी निर्णय गरेर काँडेतार काटिएको जानकारी प्राप्त भएको छ’, नेपालले दैनिक नेपालगन्जसँग भने, ‘सबै पक्षसँग छलफल गरेर उपमहानगरपालिकाले निर्णय लिनुपर्ने हो ।’

Exit mobile version