खाद्य स्वच्छता तथा गुणस्तर ऐन आगामी साउन २० गतेदेखि कार्यान्वयनमा आउँदैछ । ऐन लागु हुँदै गर्दा प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले बिहीबार नेपालगन्जमा प्रदेश स्तरीय खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी गोष्ठीको आयोजना गर्यो । खाद्य अधिकारकर्मी, व्यवसायी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि सम्मिलित गोष्ठीमा ऐन कार्यान्वयनको आवश्यकता र चुनौति बारे बहस समेत गरिएको थियो ।
गोष्ठीमा बोल्दै लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । उनले नेपालका खेतबारी बाँझै रहँदा भारतबाट अखाद्य खाद्यान्न खुला सीमानाका कारण भित्रिरहेको उल्लेख गर्दै निगरानी गर्न प्रशासनको ध्यानाकर्षण गराए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका अधिकृत एकराज बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै खाद्य अधिकारकर्मी बसन्त गौतमले खाद्य ऐन आउनु स्वागत योग्य रहेको उल्लेख गर्दै कार्यान्वयन तदारुखता हुनुपर्ने बताएका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले ऐन कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै खुला सीमाबाट बिना भन्सार भित्रिने अखाद्य वस्तुमा रोक लगाउनु पर्ने धारणा राखे ।
जडिबुटी व्यवसायी संघ बाँकेका अध्यक्ष टंक शर्माले जडिबुटी व्यवसायीले निर्यातमा भोगिरहेको समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज कार्यालयका प्रमुख अमित भुषण समुनले कार्यालयले गर्ने कार्यहरू तथा अखाद्य वस्तु र त्यसले स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभावहरूका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै जडिबुटी व्यवसायी रविन्द्र शुक्लले निर्यात गर्दा परीक्षणको समस्या रहेको भन्दै समाधान गर्न आग्रह गरे । उनले जडिबुटी निर्यात गर्दा भन्सारमा गाडी पुर्याएर दिल्ली नमूना पठाउनु पर्ने र १५÷२० दिनमा परीक्षण भएर आउँदा फेल भए फर्काउनु पर्ने हुँदा व्यवसायीले नोक्सान व्यहोर्नु परिरहेको बताए । उनले भारतसँग समन्वय गरेर नेपालमै परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
दुग्ध व्यवसायी बद्रुदिन अन्सारीले दुग्ध व्यवसायको मापदण्ड रहेपनि त्यसको पालना नभएको र अनुगमन पनि नभएको भन्दै नयाँ आउने ऐन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।
खाद्य अधिकारकर्मी प्रभात सिंह ठकुरीले ऐन लागु भएपछि त्यसको कार्यान्वयनका लागि प्रभावकारी अनुगमन आवश्यक रहेको बताए । ‘ऐन आउने तर जनशक्ति र प्रविधिको अभावमा अनुगमन परीक्षण नहुने गरेको पाइएको छ’, उनले भने, ‘त्यसैले ऐन कार्यान्वयनका लागि पूर्व तयारी आवश्यक छ ।’
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अधिकृत सुमन धितालले खाद्य स्वच्छता तथा गुणस्तर ऐनबारे प्रस्तुति राखेका थिए । कार्यक्रमको उद्देश्यमाथि खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेले प्रष्ट पारेका थिए ।