बाँकेमा ६२ हजार ७९६को हितग्राही खाता

नेपालगन्ज । शेयर बजारका लागि ब्रोकर (दलाल) कार्यालय स्थापना भएको आठ बर्षपछि नेपालगन्जमा डिम्याट (हितग्राही )खाता खोल्नेहरुको सङ्ख्या हवात्तै बढेको छ ।

सो अवधिमा अहिलेसम्म बाँकेमा ६२ हजार ७९६ जनाले हितग्राही खाता खोलेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि., नेपालगन्जका प्रमुख उदय अधिकारीले जानकारी दिनुभयो । ती खातामध्ये ३७ हजार ३०० पुरुष, २७ हजार ४५९ महिला र ३७ जना अन्यको रहेका छन् । यसमध्ये पनि करिव १० प्रतिशत निष्क्रिय खाता रहेको बताइएको छ ।

अधिकारीले कार्यालय स्थापनाकालमा हितगा्रही खाता खोल्न काम हम्मे हम्मे भएको स्मरण गर्दै जसोतसो गरेर ५००० खाता पु¥याएको बताउनुभयो ।

“घर घरमा जानुपथ्र्यो, कहाँ कहाँ पुगेपनि बोलाएर ल्याउनुपथ्र्यो ” उहाँले भन्नुभयो ।

अधिकारीले ट्रेडरका रुपमा ३०० जना सक्रीय लगानीकर्ता रहेको उल्लेख गर्दै त्यही दिन शेयर किन्ने र त्यही दिन बेच्ने तरिकाले पनि लगानीकर्ता सक्रिय रहेको बताउनुभयो ।

“एकै दिनमा पुरानो बेचेर नयाँ किन्ने पनि हुन्छन्” उहाँले भन्नुभयो । बैङ्कले पनि खाता खोल्ने अनुमति पाउनु र हितग्राहरी खाता खोलेपछि लगानी गरेर फाइदा लिन सकिन्छ भन्ने विषयमा लगानीकर्ता गाउँगाउमा समेत सचेत भएकाले यसप्रतिको आर्कषण बढ्दै गएको अधिकारीको भनाई छ ।
लगानीकर्ता कुल प्रसाद शर्माले (आइपिओ) प्राथमिक निष्काशन को शेयर भर्न पनि हितग्राही खाता खोल्नेहरु बढेको भन्दै लहैलहैमा लागेर पनि हितग्राही खाता धेरै भएको टीप्पणी गर्नुभयो ।

शेयर बजारमा (टीएमएस) ट्रेडिङ् म्यानेजमेण्ट, सिस्टमबाट कारोवार गर्नेको सङ्ख्या हितग्राही खाता भन्दा कम देखिएको छ । बाँकेमा २९ हजार १७३ जनाले शेयर बजारमा (टीएमएस) मार्फत कारोवार गरेका छन् । यसमध्ये १० जना संस्थागत लगानीकर्ता समेत रहेका छन् । कतिपयले नेपालगन्ज बसेर पनि अन्य ब्रोकर कार्यालय मार्फत काम गरेको बताइएको छ ।

विस २०७३ मा नेपालगञ्जमा इम्पेरियल सेक्युरिटीज प्रालि पहिलोपटक स्थापना भएको थियो । त्यसपछि कालिका सेक्युरिटीज प्रालिसहित दुई ब्रोकर कार्यालय रहेका छन् । यहाँ बाँके, बर्दिया, दाङ, कैलाली, कालिकोट, जुम्लालगायतका जिल्लाबाट सेयर कारोबार गर्न लगानीकर्ता नेपालगन्ज आउँछन् । कुनै बेला रु २७ करोडसम्म कारोबार गरेको इम्पेरियल सेक्युरिटीजले अहिले पनि रु एक करोडदेखि रु एक करोड ५० लाखसम्म दैनिक कारोबार भएको दाबी गर्दै आएको छ ।

पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगन्जमा सेयर बजारप्रतिको रुचि बढ्दै जाँदा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले यहाँ सेयर बजारमा लगानी गरेका छन् ।

Exit mobile version