वडा नं. १८ द्वारा सहायक सामाग्री वितरण

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले स्थायी रूपमा बसोबास गर्ने आफ्नो वडाबासीका लागि अपाङ्गता परिचयपत्रका आधारमा सहायक सामाग्री वितरण गरेको जनाएको छ ।

बिहीबार अपाङ्गता भएका वडाबासीहरूलाई जमघट गरी माग र आवश्यकताका आधारमा सहायक सामाग्री वितरण गरिएको वडाध्यक्ष दीपक कुमार बर्माले जानकारी दिए ।

‘नागरिकताको फोटोकपि र अपाङ्गता परिचय पत्रको आधारमा उपस्थित वडाबासीलाई माग र आवश्यकताका आधारमा सहायक सामाग्री वितरण गरिरहेका छौं’, वडाध्यक्ष बर्माले दैनिक नेपालगन्जसँग भने, ‘बिहीबार मात्रै ४४ जनालाई विभिन्न सहायक सामाग्रीहरू वितरण गरेका छौं ।’

वडाध्यक्ष बर्माका अनुसार, बिहीबार सिलाई मेसिन, साइकल, सेतो छडी, छाता लगायतका सहायक अपाङ्गता भएकाहरूलाई वितरण गरिएको छ । ‘थप ३६ वटा सहायक सामाग्री वितरण गर्न बाँकी छ’, वडाध्यक्ष बर्माले कुनैपनि बेला अपाङ्गता परिचयपत्र सहित आउनेहरूलाई वितरण गरिने जानकारी दिंदै भने ।

सहायक सामाग्री वितरण कार्यक्रममा वडा सदस्य दिग्विजय ढुंगाना, आशा शाही लगायतको पनि सहभागिता रहेको वडाले जनाएको छ ।

Exit mobile version