देशमा आजः ८ बजे ८ खबर

१. नेकपा (एकीकृत समाजवादी) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मुख्य साझेदार दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिने निर्णय गरेको छ । साथै मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेका छन् ।

२. कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताका कारण कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिलेको परिस्थितिको सम्पूर्ण कारण भनेको प्रधानमन्त्री दाहालको अस्थिरता नै रहेको बताएका हुन् ।

३. सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारीका सञ्चालकहरुलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भइ अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो ।

४. सरकारलाई दिएको समर्थन फिर्तासँगै लुम्बिनी प्रदेश सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका सरकारी निवासमा भेटेर मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

५. काठमाडौंको माइतीघर मण्डलामा धर्ना बस्दै आएका क्रसर व्यवसायीहरुको माग सम्बोधनका लागि पहल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहमत भएको छ । यो सहमतिसँगै क्रसर व्यवसायीहरुले तीन सातादेखि जारी आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

६. मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २२ गते विश्वासको मत लिने बताएका छन् । मधेस प्रदेशसभामा चौथो ठूलो दलका रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो ।

७ं राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक गरेको छ ।

८. नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न÷नगराउन ध्यानाकर्षण गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको जनाएको हो ।

Exit mobile version