१. प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रयोजनका लागि संसद् सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् ।
२. नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
३. प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिस्थितिमा उतारचढाव जस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा उनले तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न निर्देशन दिए ।
४. राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।
५. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई नतर्साएको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भनिन्, ‘शिक्षकले राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुप¥यो । कुरा यही हो ।’
६. मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको जानकारी दिए ।
७. बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू भएको छ । सबै मापदण्ड पूरा गरी अनुमति पाएसँगै उपचार सेवा सुरु गरिएको हो । नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले अस्पतालमा व्यवस्थापनका सबै तयारी पूरा भएपछि सेवा सुरु गरिएको जानकारी दिए ।
८. लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न नेकपा एमालेले प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएको छ । एमालेले सरकारलाई दिएको समर्थन बिहीबार फिर्ता लिएको थियो ।