नेपालगन्जका चोकमा ट्राफिक लाइटको तमासा

नेपालगन्जको मुख्य सडकमा जडान गरिएका ट्राफिक लाइटहरू केही दिन प्रयोगमा ल्याएजस्तो गरेर फेरि बन्द गरिएपनि असारको अन्तिमसाता आएर केही चोकहरूमा ट्राफिक लाइटहरू फेरि बलिरहेका देखिन्छन् । तर, तीनको उचित प्रयोग र पालना छैन ।

झिप्झिप् बाल्ने निभाउने गरि केही दिनदेपिख के गरिरहेको होला ? ट्राफिक प्रहरीलाई यसबारेका जिज्ञासा राख्दा अहिलेसम्म ती लाइटहरू प्रहरीलाई हस्तान्तरण नगरिएकाले केही बोल्न नसकिने प्रतिक्रिया दिन्छ । ‘कन्ट्रोल रुमनै बनाइएको छैन,’ बाँके ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘हामीसँग समन्वयसम्म गरिएको छैन ।’

नेपालगन्जमा ट्राफिक व्यवस्थापन सुधार गर्ने उद्देश्यले मुख्य चोकहरूमा ट्राफिक बत्तीहरू जडान गरिएका छन् । जडान गरिएको महिनौं बितिसक्दापनि उपयोग नगरिंदा राज्यस्रोतको दुरुपयोग देखिन्छ । ‘प्रयोगनै नगर्ने भए के तमासा गरेको होला ? धम्बोझीमा केही दिनदेखि बाल्ने निभाउने गरि बालिएको ट्राफिक लाइट देखाउँदै स्थानीय जाकीर हुसेनले दैनिक नेपालगन्जसँग भने ।

२०८९ पुस महिनामा एक करोड ५९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएकोमा अहिले यी लाइटरू जडानको सबै काम पूरा भैसकेको सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए । तर, अहिले नै ट्राफिक लाइटको पालना गराउन सकिने अवस्था नभएकोले दुई वर्षसम्म ट्राफिक लाइटबारे सचेतना फैलाउने र त्यसपछि मात्रै पूर्णरुपमा लागू गराउने योजना रहेको भण्डारीको भनाइ छ ।

भण्डारीले दुई वर्षसम्म सडक विभागको ट्राफिक शाखा, निर्माण कम्पनी र ट्राफिक प्रहरीको समन्वयमा लाइटबारे सचेतना फैलाइने बताए । निर्माण कम्पनीसँग दुईवर्षसम्मको मर्मत सम्भारको जिम्मासमेत राखेर सम्झौता गरिएको उनले बताए ।

भण्डारीका अनुसार, ट्राफिक प्रहरीलाई लाइटहरू सन्चालनका लागि कम्प्युटर लगायतका उपकरणहरू पनि प्रदान गर्न बाँकी रहेको बताए । इन्टरनेटको मद्दतले सन्चालन गरिने गरेको उनले जानकारी दिएका छन् ।

नेपालगन्जको गणेशमान चोक, वीपी चोक, धम्बोझी र पुष्पलाल चोकमा तथा राँझा चोकमा ट्राफिक लाइट जडान गरेर प्रयोगविहीन अवस्थामा राखिएको छ ।

Exit mobile version