नागरिक समाज र सञ्चार क्षेत्रलाई भरपर्दो तथा उत्तरदायी बनाउन ‘जवाफदेहिता अनुगमन संयन्त्र’को खोजी भएको छ । बिहीबार नेपालगन्जमा आयोजित एउटा कार्यशालामा सहभागी सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधि बीचको छलफलमा संयुक्त संयन्त्रको आवश्यकता बोध गरिएको हो ।
‘नागरिक समाज र मिडियालाई जवाफदेहि बनाउन’ निगरानी संयन्त्र आवश्यक भएको भन्दै त्यसका लागि पहल लिन सम्बद्धहरूलाई ध्यानाकर्षण पनि गराइएको कार्यक्रममा ‘डिजिटल साक्षरता’को आवश्यकता पनि औंल्याइएको थियो । सामाजिक सञ्जालमा जथाभावी बोल्ने कुरालाई नै अभिव्यक्ति स्वतन्त्रताका रूपमा परिभाषित गरिंदा अराजकता फैलिएको भन्दै त्यसका लागि प्रत्येक नागरिकलाई जिम्मेवार र जवाफदेही बनाउन निगरानी आवश्यक रहेको सहभागीहरूको जोड थियो ।
‘नागरिक समाज कमजोर हुँदा नागरिकका अधिकार कुण्ठित भैरहेका छन्’, संघीयतासँगै नागरिक समाजको उपस्थिति कमजोर भएको औंल्याउँदै पत्रकार रूप गहतराजले भनिन्, ‘जताततै पार्टी प्रतिनिधि जगजगी बढ्यो, स्वतन्त्र मिडिया र नागरिक समाज कमजोर देखियो ।’ उनले नागरिक समाज पनि दलीय प्रभावमा पर्दा सीमान्तकृत समुदायको अधिकार प्रत्याभूत हुन नसकिरहेको टिप्पणी गरिन् ।
द एशिया फाउण्डेशनले नागरिक समाज र सञ्चार विषयक परियोजनाको तेस्रो चरणका लागि ‘को क्रियसन’ कार्यशाला आयोजना गरेको हो ।
तेस्रो बर्षका लागि योजना तर्जुमा गर्न सरोकारवालाहरू बीच गरिएको कार्यशालामा दलित अधिकारकर्मी निर्मला सुनारले दलित भित्र पनि सीमान्तकृत समुदाय अझै पनि पीडामा रहेको भन्दै नागरिक समाज र मिडियाले त्यसतर्फ ध्यान पुुर्याउनु पर्ने औंल्याइन् ।
कार्यशालामा समूहगत छलफल गरी लुम्बिनी प्रदेश केन्द्रित फाउण्डेशनका गतिविधिहरुमा नागरिक समाज र सञ्चारलाई संस्थागत सहयोग गर्न सुझाव दिइएको थियो । ‘स्वतन्त्र नागरिक समाज र मिडियालाई जवाफदेहिता प्रवद्र्धन गर्न बलियो साझेदारी आवश्यक छ’, कार्यक्रममा सहभागीहरुले धारणा राखे ।
द एशिया फाउण्डेसनका सञ्चार अधिकृत एञ्जिला पन्थी, रणनीतिक संवाद अधिकृत सञ्जिव गिरी लगायतले कार्यक्रममा सहजीकरण गर्दै परियोजनाबारे बिस्तृत जानकारी प्रस्तुत गरेका थिए ।