१. निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हालसम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना–२०८१÷८२ को मस्यौदा तयार गरेको छ । आयोगले उक्त मस्यौदामा सुझाव दिन सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई आह्वान गरेको हो ।
२. नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए ।
३. नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ ।
४. जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय समितिमा ९ जना केन्द्रीय कार्यकारिणीसहित २ सय १५ जना सदस्य मनोनयन गरेका छन् ।
५. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर सेवा पूर्णरूपमा स्थानान्तरण गर्ने उद्देश्यले भक्तपुर नलिञ्चोकमा सञ्चालनमा आएको ‘हेलिपोर्ट’ २० दिनमै अलपत्र परेको छ ।
६. विश्वमा दुलर्भ मानिएको सुनौलो तोप चराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बिहीबारदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो ।
७. मनोरञ्जनका क्षेत्रमा आबद्ध युवायुवती यौन शोषण, बाध्यात्मक श्रम र हिंसा व्यहोर्न बाध्य भएका प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
८. काठमाडौँ महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको रु ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ ।