शनिबार आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती मनाइएको छ । नेपालगन्जमा भेरी साहित्य समाज, केन्द्रीय समिति, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति र महेन्द्र पुस्तकालय, नेपालगन्जको आयोजनामा भानुभक्त चोक नेपालगन्जमा प्रभातफेरी सहित सभाको आयोजना गरिएको छ ।
वरिष्ठ साहित्यकार कथाकार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यता, लुम्बिनी प्राविधिक वि.वि.सेवा आयोगका सदस्य प्रा.डा.कृष्ण प्रसाद घिमिरेको विशिष्ट आतिथ्यता तथा अन्य साहित्यिक वरिष्ठ व्यक्तित्वहरू, संघ संस्थाहरूको समुपस्थितिमा आदिकवि भानुभक्तको शालिकमा माल्यार्पण, धुपदीप, अबिर अर्पण गरी श्रद्धाञ्जली पश्चात् प्रभातफेरी गरी महेन्द्र पुस्तकालयमा गई सभामा परिणत भएको थियो । प्रभातफेरीको क्रममा “आदिकवि भानुभक्त आचार्य अमर रहुन’्, “हाम्रो भाषा, हाम्रो भेष प्राणभन्दा प्यारो छ” जस्ता नाराहरूले गुन्जायमान भएको थियो ।
सभामा २११ औं जन्म जयन्ती कार्यक्रम भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति, ने.ग.का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, प्रमुख अतिथि वरिष्ठ साहित्यकार कथाकार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यता, लुम्बिनी प्राविधिक वि.वि.सेवा आयोगका सदस्य प्रा.डा.कृष्ण प्रसाद घिमिरेको विशिष्ट आतिथ्यता, भेरी साहित्य समाज, केन्द्रीय समितिका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, सल्लाहकार हरि तिमिल्सेना, पूर्णलाल चुके, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव तथा अन्यको समुस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको बारेमा वृस्तित रूपमा प्रकाश पारिएको थियो भने विभिन्न साहित्यिक स्रष्टाहरू रामचन्द्र आचार्य, भिम बहादुर शाही, पद्मा रिजाल, सुधा वास्कोटा ढकाल, गीता अर्याल, सुन्दर गुरुङ्ग, कल्पना पौडेल जिज्ञासु, पुष्पा श्रेष्ठ, ब्रह्माकुमार कृष्ण ब.रानाभाट, ईन्दिरा अधिकारी आदिले आ आफ्नो सृजना वाचन गरेका थिए ।