अधिकारवादी सस्था एडभोकेसी फोरम नेपाल र इन्सेक नेपालगन्ज प्रतिनिधिद्वारा संयुक्त रूपमा बाँके कारागारको कैदीबन्दीको आधारभुत मानव अधिकार उपभोगको अवस्थाका बारेमा जानकारी लिएका छन् ।
एडभोकेसी फोरमका लुम्बिनी प्रयोग संयोजक अधिवक्ता बसन्त गौतम, इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्ल, अधिकृत सोम नेपाली र मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरीको संयुक्त टोलीले कारागारको पछिल्लो अवस्थाका बारेमा मंगलवार अनुगमन गरेको हो ।
यसक्रममा अनुगमन टोलीले कारागारका जेलर अर्जुन जंग शाहसंग कारागार ब्यवस्थापनको पछिल्लो अवस्थाका बारेमा छलफल गरेको जनाएका छन् ।
अनुगमनका क्रममा ३ सय ५० जना राख्ने क्षमता भएको बाँके कारागारमा हाल क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिएको पाईएको अनुगमन संलग्न अधिवक्ता समेत रहेका वसन्त गौतमले जानकारी दिए । बाँके कारागारमा ४ सय ५२ जना कैदी, २ सय ४८ बन्दी गरी जम्मा ७ सय ६४ जना कैदीबन्दी राखिएको गौतमले बताए । कारागारमा ६४ जना भारतीय नागरिक र १० जना ६५ बर्ष माथीका ज्येष्ठ नागरिक रहेका छन् ।
जेष्ठ नागरिक कैदीबन्दीलाई सामाजिक सुरक्षा भत्ताको लागी सहजिकरण गर्ने, कारागार भित्र आफ्नो धर्म अनुसारको धार्मिक सस्कार पुजा पाठ गर्ने वातावरण मिलाएको जेलर बताए । कारागार भित्र हिन्दु र मुस्लिमको मन्दिर बनाई कैदीबन्दीले पुजा गर्ने गरेको जेलर अर्जुनजंग शाहले ले जानकारी दिए ।
बाँके कारागारमा २ वटा ब्लकमा कैदीबन्दी राखीएको छ । पहिले महिला कैदीबन्दी राख्ने बि ब्लकमा हाल पुरुष कैदीबन्दीलाई राख्ने गरिएको छ । बाँकेमा महिला कैदीबन्दी नराखी हाल बर्दिया कारागारमा पठाउने गरिएको छ ।
अत्यधिक गर्मीका कारण कैदीबन्दीहरूमा छिटफुट रूपमा छाला रोगको समस्या भएको छ । कैदीबन्दीहरूले शौचालय प्रयोग गर्न पालो कुर्नु पर्ने, कोचिएर बस्नु पर्ने, सुत्नलाई समस्या हुने केही कैदीबन्दीले गुनासो गरे । कारागारमा केही कैदीबन्दीहरू बिरामी भएकोलाई सहज रूपमा भित्रको कम्पाउण्डमा हिडडुल गर्न, ज्येष्ठ नागरिकहरूलाई शारीरिक अवस्था अनुसार बस्न, खान र सुत्ने व्यवस्था मिलाइएको कारागार प्रमुख शाहले बताए । खानेपानीका लागी २ वटा समरसेल राखिएको, खानेपानीको धारामा पनि खान मिल्ने स्वच्छ पानी आउने गरेको जेलर शाहले बताए ।
कारागारमा स्वास्थ्यकर्मीको दरवन्दी रहेको नियमित स्वास्थ्य उपचारको ब्यवस्था मिलाईएको, बिरामीको अवस्था अनुसार नजिकै रहेको भेरी अस्पतालमा उपचारार्थ लैजाने गरेको भन्दै उपचार खर्च वापत बार्षिक रूपमा १२ लाख आउने भएता पनि त्यो रकम यतिका कैदीबन्दीको उपचारका लागी अप्रयाप्त रहेको जेलर शाहले
बताए ।
बाँकेको नौवस्तामा क्षेत्रीय कारागार संचालनमा आए पनि कारागार कार्यालय बाँकेमा दोब्बर कैदीबन्दी छन् । नौवस्ता कारागार अभै फुल फ्रेजमा संचालनमा आउन सकेको छैन ।