हो,मेरो शहर अतिवादी नै हो

नेपालगन्ज अतिवादी शहर हो । यहाँ जे हुन्छ, अतिमा हुन्छ । जाडोमा शीतलहर चल्छ ।  गर्मीमा लु चल्छ ।  हावा उग्र बनेर आँधी बेहेरी बन्छ ।  आँधी बेहरीसँग मितेरी गरेर उड्ने धुलोले धरती छोप्छ । कहिले सुख्खा त कहिले बाढी । चानचुने हुँदै हुँदैन, एकैछिनमा शहरनै जलमग्न हुन्छ । यहाँका लामखुट्टे पनि चानचुने छैनन् । झुललाई इस् भन्ने, अलआउट पचाइदिने मलेरियाका कुरै छोडौँ, इन्सेफ्लाइटिस, मेनेन्जाइटिस, डेंगु फैलाउनसक्ने तगडा छन् ।  स्कुल जान प्रोत्साहित नगरिएका किशोर, किशोरीहरू पनि अति धार्मिक बनाइन्छन्  ।  धार्मिक कर्म र चरित्रमा नभै डिजेका तालमा नाँच्दै प्रदर्शनमा देखिन्छन् । निजी जिन्दगीमा गरेका पाप पखाल्न अन्य धर्म, जाति र समूहलाई गरिने घृणा सडकमा छताछुल्ल हुन्छ या घरका झण्डा बनेर छतमा फर्फराउछ । अन्याय, अत्याचार र सामाजिक सरोकारका जुलुससंग हैन् यहाँ डराउनुपर्छ– धार्मिक जुलुसले ।


कुनैदिन गगनगन्ज प्रतीक बन्थ्यो, आधुनिकतासँगै जे पनि बेचिने, किनिने भएपछि शहर नै गगनगन्ज बनेको छ । शहरमा  या त नयाँ विषय छँदै छैन, जे छ, त्यो अतिमा छ । उग्र छ । आतङ्कमै छ । म यस अतिवादी शहरको बासिन्दा हुँ । यहाँ प्रेम पनि, घृणा पनि अतिमा हुन्छ ।

कठांग्रिने जाडो र शीतलहरलाई चुनौती दिँदै आस्थावानहरू मकर नुहाउन त्रिवेणी या घाट पुग्छन् । नेपालगन्ज पनि रिहार गयो ।  भुँवरभवानी गयो । राप्तीगयो । आस्था पनि अचम्मैको शक्ति हुँदो रहेछ । सामान्यनजरले खुट्याउनै गाह्रो । त्यसले पार्ने समाजमा प्रभाव र नैतिक बन्धन । मोक्षका कल्पना गर्दै जस्तो पनि दुखकष्ट उठाउन सक्ने मानसिक तागत दिने । धर्म परम्परा र संस्कृतिको बिच भिन्नता र एकता । यदि संस्कृतिको आड भरोसा र छहारी पाउँदैनथ्यो भने विचरा धर्मको हविगत कस्तो हुन्थ्यो होला !

आन्दोलन कालमा मौन रहेर विजय देखेपछि अन्तिम समयमा बहादुर कहलिन सडकमा कुर्लिन्छ, डुक्रिन्छ । २०३५,०३६ यस्तै भयो । ०४६ यस्तै भयो । बहादुर क्रान्तिकारी देखिन शक्तिहीन भै सक्या पन्च माथि बज्रिन्छ । शालीन फत्तेसिंह थारुलाई कालोमोसो दलेर सहर घुमाउँछ । कसले गरेको जिम्मेवारी कोही लिँदैन । फेरि उनै फत्तेसिंहलाई संसद जिताएर मन्त्री बनाउँछ । कहिले पुरै कांग्रेसलाई जिताउँछ, कहिले राप्रपालाई, कहिले फोरम । अस्थिर चन्चल छ । माया गर्दा अचाक्ली गर्छ, रिस उठ्दा उग्र हुन्छ । मिस्कट चरित्र नायकको ककटेल व्यक्तित्व निर्माण गर्न खप्पिस छ, नेपालगन्ज ।

माघे सङ्क्रान्ति थारू नयाँवर्ष । हरेक जातीको नयाँवर्ष फेरिए झैँ चिस्यानमै थारूले माघीमा पात्रो फेरे । माघीको ठिहीठिहीमंै आफ्ना पुर्खाले धानेर, तानेर मनाउँदै आएका पर्व मनाउँदैछन् । ढिग्री खाँदै र अनदीको झोलमा रमाउँदै सखिया हो,भाकामा थरुहट नाच्यो, गीत गायो । अब त माघीमा आधुनिकता मिस्कट भएर मौलिकता डिजेले चपाउँदै पनि छ  ।  

नयाँ वार्षिक योजना बनाउनुअघि थारूमा माघी पर्व मानिन्छ । माटो कोरेर बाझो धरतीमा गर्भाधान गराउँदै लहलहबाली झुलाउने कम्पिक्ट समाजको पौरखी जाती थारु । शब्दको अर्थ फेरिँदा कर्मशील नेवारमा ज्यापु भनेझैँ थारुमा कमैया शब्दै अपभ्रंश गराइयो । ज्या अपू काम धेरै गर्ने, तर हेपिने । अर्को कमुहिया अर्थात कमाउने पौरखीलाई बन्धुवा मजदुर । थारुहरु पनि चिस्यानमा तात्न खोज्दै छन् । जातीय पहिचान र स्वाभिमानताको भोक । त्यसैमा टेकेर उन्माद छर्ने बहिष्कृतहरूको खेल पनि । केही समयसम्म कमैया कम्लहरी किनिने र बेचिने मानवताको  कुरूप र कलंक थियो । त्यसैमा टेकेर विकासे खेल धरै भएपनि ।  अब त मान्छे आफै बेचिन, दास बन्न भिसा लिएर विदेश हुँइ किन्छन् ।  


विहानी भएर मात्रै हुँदो रहेनछ ।  उज्यालोको देख्न त आँखै खोल्नुपर्ने रहेछ  । हामी घामको पर्खाईमा छौ । नचिहाइ देख्न सकियोस् –विषय, मान्छे, सडक र बस्तुहरू । चिसिएका आत्माहरू पनि तात्न घामकै पर्खाईमा छन । व्याकुल समयमा शीतलहरीका कोही पनि समर्थक छैन –नेपालगन्जमा, तराईमा, मधेसमा । झेल्न बाध्य भएपनि चोकचोकमा ध्वनि जगाइएका छन र मात्तिएका छन्, भट्टीहरू । कफी कल्चर भित्रियाहरूको पहिचान बन्दो छ ।


नेपालगन्जमा पनि भट्टीमा नमातिनेहरु कफीमा गफिने फेसन बन्दै पनि छ । चियाको वाफवा मुढा तापेर शीततलहरसगं पौठाजोरी खेलिरहेका छन, चोकहरु पनि । नेपालगन्जको खबर यस्तै यस्तैै छ ।


शीतलहर शारीरिक श्रम गर्नेहरू एकातर्फ बेहाल छन भने अर्कातर्फ श्रमप्रति अनास्था थपिन जाँदा जताततै इजी मनीका (श्रम नगरी पैसा कमाउने ) कारिन्दाको जगजगी । हुँन त इजिमनी नै नेपाली समाजमा छिट्टै धनी बन्नेहरुको पहिचान बन्ने हो की भन्ने पनि भइसक्यो । श्रमप्रति आस्था तिब्र रुपमा घट्नु अर्कातर्फ विदेशमा गएर जस्तोसुकै श्रम गर्न नहच्कनेहरु आफ्नै ठाउँमा पाखुरी वजार्न भने हिच्किचाउन थालेका छन । यी इजीमनीका कारिन्दा हेर्दा, देख्दा र जन्मपत्री पल्टाउँदा कहीँकतै पनि उनीहरूमा न त् धार्मिक, राजनीतिक वा जातीय आदर  वा संवेदनानै देखिन्छ न त लगाव नै । मात्रै श्रमहीन पैसाको जोहो गर्ने वा आपराधिक चिन्तन ।  शीतलहरमा पनि उनीहरूको कारोबार खुबै चलेकै छ । तर साँच्चै श्रम गरेर जीवन धान्ने हरुलाई  भने शीतलहरले बेहाल बनाएको छ । 

 
तराई–मधेसको हालत र हबिगत सुनाँउदै सगोत्रीलाई भनें– अहिले तराई मधेसमा जाडोलाई बैँस चढेको छ । मेरो शहर कठ्याङ्ग्रिएको छ । शीतलहरले सडक, छत भिजेको छ । वातावरण कुइरीमण्डल छ । जता हेर्यो त्यतै कुइरो र टुईटो । जता छोयो त्यतै चिसो । खै, फिलिंगाहरु,आगो पनिचिसो भएको पो हो की ! ताताहरु पनि कठ्याङ्ग्रिएका हुन्की ! मत्थर भएका आवेग र थिग्रिएका अभियान । धाँजा परेका सपना । सुस्ताएका स्वप्न द्रष्टा । आउँछन् भनेर पर्खनेहरूको तातो अपेक्षा ।


ध्वस्त हुँदाका आदर्श र त्यसैलाई थेगिरहेको छौँ भन्ने बुख्याचाको हविगत सुनाउँछु । अहिले समग्रक्षेत्रमै तुवाँलो, कुइरो र टुइटो लागेको छ । अनिश्चय छाउँदै छ ।  सर्वत्र कुइरी मण्डल भएको अवस्थामा देशले घाम पर्खिरहेको छ । अझै ज्यादा शीतलहरले गाँजेको तराई मधेशको नेपालगन्जमा छु ।    


तराई–मधेसलाई गर्मी र पहाडलाई जाडो भन्नेहरूको कुरालाई मीनपचास लोप्पा ख्वाइदियो । समयलाई पछ्याउदै सोच फेर्न नसके यथार्थ कसै गरेर पनि थाहा पाउन सकिँदैन भन्ने कुरा यहाँको मौसमले भनिदिन्छ ।


पार्टीहरूले आदर्श फेरेझै मौसमले पनिआफ्नो सनातनी रूपरंग फेरेको केहीवर्ष नै भइसक्यो ।  हो, पर्यावरणकै कारण । हप्तौँदेखि घाम देखिएको छैन । सूर्यको अनुहार देख्न नपाउँदा समाज शीत लहरीको पीडादायी अभ्यस्त हुँदैछ ।  कठाङ्ग्रिदो गुँड, खोर र गोठमा गुँडुल्किएका मादाहरु ब्याउन सकेका छैनन् । पौँदाखिल्न सकेको छैन । फूल फक्रन सकेको छैन । आलु लगायत तरकारी खेतीमा डुडुवा लागेको छ । निर्धापाका र अस्वस्थ अवस्था चिन्ताजनक छ । शीतलहरीले धेरैलाई आहारा बनाइसक्यो ।


हो, मधेस अहिले कुइरी सागरमा फेरिएको छ ।  गाडीहरू कुइरीसागर विरुद्ध दिउँसै बत्ती बालेर हर्न बजाउँदै हाँकिन बाध्य छन् । तराई– मधेस अहिले घामको पखाईमा छ । कहिलेकहीँ घाम झुल्कन्छ फेरि तुरुन्तै अलप भइदिन्छ । हो… साँच्चै तराई– मधेस फेरि अर्को घामको पर्खाईमा छ ।  

Exit mobile version