पुष्कर रिजाल
नेपालको मौद्रिक प्रणालीको इतिहासमा दाम, पैसा, सुका, मोहरको आफ्नै पहिचान र महत्व छ । आजको पुस्तालाई यी मुद्राबाट कारोबार गर्न त के यिनको दर्शन पाउन पनि दुर्लभ छ । यसै समयमा फेरि मोहोरको कुरा कताबाट आयो भन्ने लाग्न सक्छ ।
कोहलपुर बाँकेका स्रष्टा सागर गैरेको औपन्यासिक कृति हो ‘मोहोर’ । यसमा मोहोरमै घर चलाएका बाको कर्मको गाथा छ, सङ्घर्षको कथा छ अनि एउटा छोराले बाबुप्रति गर्नुपर्ने कर्तव्य, व्यवहार र सम्मानको आदर्श पनि छ । यससँगै मानिसको बसाइ सराइका रहर अनि बाध्यता देखाउँदै कर्म र भाग्यका खेललाई पनि रोचक किसिमले प्रस्तुत गरिएको छ ।
सानैमा बाबुआमा गुमाएका घनश्यामको चौरासी पूजापछिसम्मको जीवनका उकाली ओराली नै उपन्यासको कथानक बनेर आएको छ । यसको परिवेश मूलतः पाल्पाको गरनडाँडा र बर्दियाको ककौरामा केन्द्रित छ भने पाल्पा, बाँके, वुटवल, शिवपुर, दार्चुला, भारत र मलेशियासम्मको परिवेश यसमा समेटिएको छ । यसैमा ०७२ सालको भुइँचालोको धक्का र कोरोना महामारीको कहर पनि आएको छ ।
छोराछोरी सहरमा भए पनि गाउँमा सहज र सुरक्षित महसूस गरी बस्ने वृद्ध अवस्थाको बाबु सोच्छन् – “कोरोनाले सबैभन्दा पहिला वृद्धवृद्धा र कमजोरलाई लैजान्छ रे ! कोरोनाले मरेको मान्छेलाई प्लास्टिकले बेरेर सेनाको गाडीमा लगेर पुर्छ रे ! मान्छे मरेपछि मलामी जान पाइँदैन रे!”
बाबुआमालाई सन्तान कति प्यारो हुन्छ । यतिबेला सन्तानलाई सम्झन्छन् । आफ्नो भन्दा सन्तानकै चिन्ता लाग्छ – ‘छोराछोरीलाई केही नहोस् भनेर रातदिन भगवान् पुकार्दै बसिरहन्छु ।’
वास्तवमा यो उपन्यासमा आफ्नै बालाई नायकीय भूमिकामा उभ्याएर सागरजीले आफ्नै परिवारको जीवनसन्दर्भका रोचक कथा व्यथालाई पस्केका छन् । यो उनकै कथा हो र उनको मात्रै होइन पनि । परिस्थितिले बसाइ सर्नेहरूलाई पनि आफ्नै कथा हो जस्तो लाग्न सक्छ । संस्मरणात्मक शैलीको उपन्यासमा भाषाको राम्रो पकड रहेको छ। पाल्पा क्षेत्रको नेपाली भाषिका पाइने भाषामा प्रशस्त उखानटुक्काको सान्दर्भिक प्रयोग, नाटकीय दृश्यजस्तो घटना वर्णन, संवाद शैली र आख्यानीकरण रोचक बनेको छ । पुस्तकले पाठकलाई गजबले तान्छ ।