नमस्तेका बचतकर्तासँग उजुरी माग

बाँकेमा बचतकर्ताको बचत फिर्ता नगर्ने सहकारी एकपछि अर्को कानुनी कारवाहीको दायरामा आउन थालेका छन् । समानता बचत तथा ऋण सहकारी संस्था, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था पछि नमस्ते बचत तथा ऋण सहकारी विरुद्ध प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचत फिर्ता नपाएका बचतकर्ताहरूको उजुरी माग गरेको छ ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले सहकारी दर्ता अधिकारीको कार्यालय दाङको जाहेरी अनुसार नमस्ते बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको जाहेरी दरखास्त आव्हान गरेको जानकारी दिए । उनले संचालक समितिका अध्यक्ष बिष्णु बहादुर रिमाल समेत भएको बचतकर्ताहरूको रकम हिनामिना (अपचलन) गरेको कसुरको अनुसन्धानका लागि बचत रकम एकिन गर्न उजुरी आव्हान गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले १० दिनभित्र बचतकर्तासँग जाहेरी दरखास्त माग गरेको हो ।

सहकारीका बचतकर्ता, ऋणि, शेयर सदस्य सबैको विवरण हुने गरेको छ । सहकारीले बचत फिर्ता नगरेपछि विभिन्न निकायमा त्यसखालको उजुरी पनि पर्ने गरेको छ । तर, बचत रकम एकिनका लागि भने बचतको प्रमाण सहित उजुरी माग्ने गरिएको छ । ‘क्रमशः रकम फिर्ता दिन्छौं भनेर पासबुक रकम फिर्ताको नम्बरमा लगाउने भन्दै कर्मचारीले यसअघि बचत पासबुक लगेका छन्’, एक बचतकर्ताले भने, ‘अब के प्रमाण लिएर प्रहरीमा उजुरी दिने ?’

नमस्ते बचत तथा ऋण सहकारीले यसअघि नै प्रहरी, प्रशासनमा परेको उजुरीमा बचत फिर्ता गर्ने प्रतिबद्धता गर्दै आएपछि कारवाही अगाडि बढेको थिएन । प्रहरीले उजुरी माग गर्दा स–सानो रकम बचत गरेकाहरू उजुरीलाई झन्झटिलो मान्दै उजुरी दिन नै नजाने गरेका छन् ।

Exit mobile version