देशमा आजः ८ बजे ८ खबर

१. प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद्पीडितहरूलाई राहत उपलब्ध गराउनका लागि सबै जिल्लामा आवश्यक व्यवस्था मिलाइएको बताएका छन् ।

२. सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर (अधिकृत छैटौं) मोहम्मद हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

३. प्रमुख श्रम गन्तव्य देश कतार र मलेसियाले गरिरहेको श्रमिक कटौतीको प्रत्यक्ष असर नेपालमा परेको छ । गत आर्थिक वर्षमा मात्र रोजगारीका लागि बिदेसिनेको संख्यामा ३.८९ प्रतिशतले कमी आएको छ ।

४. भारत सरकारले कोशी नदीको बाढी नियन्त्रण र सिँचाइ परियोजनाका लागि ११ हजार ५ सय करोड भारतीय रुपैयाँ बजेट छुट्याउने भएको छ ।

५. छिमेकी मुलुक बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपालसहित भारत र भुटानको व्यापारमा पनि परेको छ ।

६. डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ ।
बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

७. ध्वनी प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पारेकोले जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक बाटो, सडक, विद्यालय, सरकारी कार्यालयलगायतका स्थानमा डीजे साण्ड सिष्टम नबजाउन आग्रह गरेको छ ।

८. जुम्लामा धुवाँमा निसासिएर १२ दिनकी सुत्केरी र उनकी बहिनीको मृत्यु भएको छ । आइतबार राति सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धुवाँमा निसासिएर चन्दननाथ नगरपालिका– ५ कालेखोलीकी २२ वर्षीया मायालक्ष्मी रोकाया, १९ वर्षीया जुनमाया रोकाया र १२ दिनको शिशु गम्भीर घाइते भएका थिए ।

Exit mobile version