१. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
२. बुधबार अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका तर्फबाट समितिले गरेका कामहरुबारेको ब्रिफिङ लिएपछि उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले वाग्मती नदी किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् ।
३. सांसदहरुले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरमाथि छानबिन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले उपसभामुख रानामगरमाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानबिन गर्न माग गरेका हुन् ।
४. प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरु नियमित उपस्थित नभएको भन्दै हाजिरी विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले कुन सांसद कति पटक बैठकमा सहभागिता जनाए भन्ने विवरण सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएको हो ।
५. गृहमन्त्री रमेश लेखकले सौर्य एयरलाइन्स दुर्घटनाको स्थलगत अवलोकनपछि दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताएका छन् ।
६. झन्डै ३४ वर्षअगाडि स्थापना भएको बागलुङको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएपछि बन्द हुने स्थितिमा पुगेको छ । कक्षा १२ पासपछि धेरैको रोजाइ विदेश हुँदा क्याम्पसमा विद्यार्थी न्यून बन्दै गएका हुन् ।
७. राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ वटा संशोधन प्रस्ताव परेका छन् ।
८. बर्दियाको मधुवन नगरपालिकाका– ३ का वन्यजन्तुबाट प्रभावित नागरिकको सामूहिक बीमा गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्ज बाँकेमार्फत उनीहरुको बीमा गरेको हो ।