सडकमा खुला छाडिने पशु, चौपायाका कारण दुर्घटनामा पशु, चौपायाको समेत मृत्यु हुने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार, गत आ.व. २०८०÷८१ मा बाँकेमा १२ वटा चौपायाको मृत्यु भएको छ । उक्त आ.व.मा ३ वटा पशु घाइते भएको थिए । आर्थिक बर्ष २०७९÷०८० मा १० चौपाया, आर्थिक २०७८÷०७९ मा २० चौपायाको दुर्घटनामा मृत्यु भएको थियो ।
सडकमा पशु
नेपालगन्जमा सडकमा पशु छाड्ने प्रवृत्तिमा कमी आउन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकाले कान्छी हाउस बनाएर त्यहाँ मात्रै व्यवस्थापन सम्भव नभएपछि राप्तीसोनारी गाउँपालिकासँगको समन्वयमा त्यहाँ पनि सडकमा छाडेको छाडा पशु पठायो । तर, पछिल्ला दिन पुनः सडकमा छाडा पशु देखिन थालेका छन् ।
खुला सीमाका कारण भारतबाट भित्रिने र स्थानीय स्तरमा पालिएका पशु प्रयोगमा नआउने भएपछि सडकमा बेवारिसे छाडिने गरेको छ । जसका कारण सडकमा दुर्घटना समेत बढ्ने गरेको छ ।
पशुचौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभावी छाड्ने प्रवृति कायमै छ । यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ ।
‘पशुबाट आम्दानी हुने बेलासम्म पाल्ने र त्यसपछिमा छाड्ने गर्दा समस्या छाडा पशुको समस्या नेपालगन्जमा दोहोरिइरहने गरेको हो’, स्थानीय भन्छन् । छाडा पशुका नेपालगन्ज आसपासका किसानहरू समेत समस्यामा रहेका छन् । खेतमा लगाएको धानबाली छाडापशुबाट जोगाउन कुर्न पर्ने अवस्था रहेको जानकी गाउँपालिकाका किसान दिनेश यादव बताउँछन् ।