नेपालमा निर्वाचनको बेला आफुलाई नयाँ भन्दै राजनीतिक दल उदाउँछन् । यस्तै गत संघीय निर्वाचनको मुखैमा आफुलाई नयाँ र वैकल्पिक भन्दै रास्वपा भन्ने पार्टी उदायो । रवि लामिछानेले दर्ता गराए । न्यूज २४ मा बोलेरै चर्चा कमाएका टेलिभिजन एङ्ंकर रवि लामिछानेको कार्यक्रमबाट प्रभावित भएका श्रोताहरु र देशका ठूला दलका ठूला नेताहरुबाट दिक्दार भएका व्यक्तिहरुको मनोभावनालाई क्याच गर्न सफल हुँदै लामिछानेको रास्वपा संसदमा चौथो ठूलो दल पनि हुन पुग्यो । दल खोल्दाका बखत नेपाली राजनीति र नेपाली मतदातामा लगभग चुनावी रंङ चढि सकेको थियो । त्यो अवस्थामा जनतासँग कस्ता कस्ता मान्छेहरु यो पार्टीसँग जोडिएका छन् र यो पार्टीले देशका लागि, जनताको जनजीविकाको लागि, नेपालमा बढ्दो राजनीतिक सिण्डिकेटमा फुले फलेको भागबण्डा र भ्रष्टाचारको झाडी सफा गर्नका लागि के कस्तो काम गर्न सक्छ भन्ने बारे त्यति चिन्तन मनन गर्ने अवसर थिएन । जनताको तीन मुख्य दलहरुप्रतिको मोहभंङको भरपूर फाइदा रास्वपाले उठायो ।
रास्वपा आफैमा न कुनै नयाँ थियो न कुनै वैकल्पिक नै भन्ने कुरा उसको स्थापनाको एक बर्षभित्रै जनतासामु छर्लङ्ग भयो । यो पङ्तिकारले रास्वपा गठनको भोलिपल्ट नै भनेको थियो कि रास्वपा भनेको कुनै नयाँ नौलो दल नै होइन । यो त मात्रै माओवादीको अर्को भर्जन हो । अर्थात ‘बी’ माओवादी नै हो भनेर । तर यो कुरालाई कसैले कसरी विश्वास गर्ने ? पङ्तिकार कुनै ठूलो मान पदवी पाएको बिभिन्न दलहरुले पत्याएको हस्ती परेन । काँग्रेस माओवादी एमालेबाट वाक्क भएर स्वाद फेर्न गएका रास्वपाका शुभचिन्तकहरुले केहि गाली गरे बस त्यत्ति हो ।
भनिन्छ नि हुने बिरुवाको चिल्लो पात । अनि दौडिने घोडाको चाल नै बेग्लै हुन्छ । तर रास्वपामा स्थापनाका बखत नै कैफियत थिए । स्थानीय निर्वाचनको परिणामले स्वतन्त्रहरु प्रति जनमतको झुकाव देखाएको बेला नाम नै स्वतन्त्र राखेर पार्टी दर्ता गरेर पहिलो चरणमा नै जनतालाई झुक्याउने र स्वतन्त्र भनेको नै रास्वपा हो भन्ने भ्रम सृजना गर्ने चाहनाले रास्वपाको गठनका पछाडी कुनै न कुनै बदनियत छ भन्ने प्रष्ट भएको थियो । अर्को कुरा रास्वपा स्थापना कुनै पनि राजनीतिक दर्शनको आधारमा स्थापना नै भएको थिएन । राजनीतिको कार्यदिशा नै प्रष्ट नभएको कुनै विचार नभएको दलको स्थापना हुनु नेपाली राजनीतिमा नौलो कुरा मात्रै थिएन निकै शसंकित प्रश्न थियो । रास्वपा लामिछानेहरुले ‘दर्शन वाद कार्यदिशाले नेपालमा के नापेको छ र आजसम्म’ भनेर भन्दै हिँडे । वामपन्थ र समाजवादी दर्शन वादबाट थिचिएको जनताले उन्मुक्तिको बाटो खोजेको बेला उनको कुरामा विश्वास गर्नेहरु देखिनु कुनै नौलो भएन ।
रवि लामिछानेले उनको पार्टीले यति राम्रो पर्दशन गर्छ भन्ने कल्पना गरेका थिएनन् । पार्टी निर्माणको कुनै पूर्व तयारी पनि थिएन । यस्तो पूर्वानुमान नभएकै कारण उनीहरुले स्थानीय निर्वाचन अगावै पार्टी गठन गरेर स्थानीय निर्वाचनमा भाग लिन गएनन् । स्थानीय निर्वाचनमा जनताको रुझानलाई हेरेर स्वतन्त्रहरु, संघीयता प्रतिको बितिष्णालाई हेरेर संघीय निर्वाचनको मुखमा पार्टी दर्ता । यसमा जनताका दुइटा सेन्टिमेन्टलाई आफ्नो पार्टी स्थापित गराउने मुख्य औजार बनाए । पहिलो स्वतन्त्र भन्ने शब्द पार्टी नाममा जोडेर अर्को प्रदेश निर्वाचनमा भाग नलिएर । यसबाट रास्वपाप्रति मतदाताहरुको चासो बढ्यो । रास्वपा भनेको स्वतन्त्रहरुको समुह हो र यसले संघीयता मान्दैन भन्ने भ्रमको जगमा पार्टी खडा गरेर त्यसमा जनताको मुख्यदलहरु प्रतिको वितिष्णाको मसला मोले पछि रास्वपा देशको चौथो ठूलो दल बन्न पुग्यो । यो रवि लामिछाने र उनको एन्टी नेपालिज्म थ्योरीको क्षणिक सफल प्रयोग बन्न पुग्यो ।
रास्वपालाई बी माओवादी भनेकोमा त्यो बेला मित्रहरुले गाली गरे । बैकल्पिक राजनीतिलाई अपमान गरेको भने । तर पङितकारको आँकलन सहि थियो भन्नेकुरा समयले प्रमाणित गरिदियो । यसका कारणहरु थिए । ती अब छताछुल्ल भैसकेका छन् ।
रास्वपाले आफु चौथो दल हुँदा पनि देशको अस्मिता लिलाम हुने एमसीसी जस्तो घातक अमेरिकी योजनामा मौनता मात्रै राखेन एमसीसी नेपालको हितमा रहेको वकालत गरिरह्यो । २०६३ साल मंङ्सिर ५ गते शान्ति सम्झौता हुँदा वालुवाटारको पत्रकार सम्मेलनबाट र त्यस यताका धेरै प्रसंङ्गहरुमा प्रचण्डले जसरी नेपाली सेनालाई बिघटन गनुपर्छ र दशहजारमा झार्नुपर्छ भन्ने अभिव्यक्ति दिइरहेका थिए त्यो भन्दा पनि एक कदम अगाडी बढेर रास्वपाका उपाध्यक्ष लगायतले नेपाली सेनाको विघटनको कुरा गरे गरिहेका छन् । नेपाली भएर सोच्नु, नेपालको हितमा बोल्नु, नेपाली सार्वभौमसत्ताको बारेमा बोल्नुलाई न्यारो नेशनलिज्म भन्ने र भारतीय डोमिनेन्टलाई वैधानिक रुपमा स्वीकार गर्न आपत्ति हुन नहुने रास्वपाका विज्ञहरुको मनोदशा र नेपाली भाषा सँस्कृति नेपाली सभ्यतालाई गाली गरेर नर्भेजियन र भ्याटिकन योजनालाई बोक्ने माओवादीको कार्यदिशामा तात्विक भिन्नता नै छैन । यी दुबै दल र यिनका मुख्य नेताहरुको आजसम्मको कामकारवाही र मोह नेपाल निरपेक्ष नै रहेको देखिएको छ । यसको अर्थ एमाले काँग्रेस यो मामिलामा निस्कलङकित छन् भन्न खोजेको भने पक्कै होइन ।
नेपाली राजनीतिमा आजसम्म जतिपनि पार्टीहरु उदाएका छन उनीहरु कोहिपनि वैकल्पिक छैनन् । सबै एक अर्काका खानापूर्ति गर्ने परिपूरक मात्रै रहेका देखिएका छन् । सबैको समाजवादप्रति मोह छ । सबैको विदेश सापेक्ष र नेपाल निरपेक्षतामा विश्वास छ । नेपाललाई अविकसित भन्ने, नेपाली मुलकुल धर्म सँस्कृति र सभ्यतालाई पाखण्ड भन्ने सोच व्यवहार छ । यहाँ नयाँ भनिने हुन या वैकल्पिक भनिने सबैका आर्दश आजसम्म नेपाल निर्माता बन्न सकेका छैनन् । नेपालसँग कुनै साइनो नभएको र नेपालको लागि कुनै योगदान नरहेको उहि माक्र्स, लेनिन, माओ, गान्धी लोहियाहरु नै उनीहरुका आर्दश व्यक्ति रहेका छन् । उहि पश्चिमा उदारवाद, भ्याटिकनवाद, जर्ज सोरोसवाद, अमेरिकी सम्म्राज्यवाद, यूरोपियन जुडोइनवाद, भारतीय साँधीढुङ्गो सारवाद, हेपाहा मिचाहावाद, इसाइमुसाइवाद प्रिय रहेको कुनैपनि पार्टी नेपालको लागि न नयाँ हो न वैकल्पिक हो भन्न कुनै हिच्किचाउनु पर्ने आवश्यकता नै छैन । निर्धक्क भन्न मिल्छ ।
नेपालमा नयाँ र मुलधारको त्यो पार्टी हुनसक्छ जसले नेपाललाई नेपाल सापेक्ष बनाउने सिद्धान्त र नीति राख्छ । जसले नेपालको मुलकुल धर्म सँस्कृति नेपाली भाषा सभ्यता सापेक्ष सनातन धर्म सापेक्ष राष्ट्रको प्रष्ट नीति अवलम्बन गर्छ । नेपालको भूगोल यहाँको पूर्खाको गौरवपूर्ण इतिहासमा गर्व गर्छ । नेपालको कार्यकारी जनताबाट प्रत्यक्ष निर्वाचितको नीति लिएको हुन्छ । नेपालको जियोभौगोलिक अवस्था विपरितको संघीयतालाई अस्वीकार गर्छ । नेपालको जियोभौगोलिक अवस्थालाई हेरेर नेपालको रक्षाको नीति अख्तियार गर्ने नीति लिएको हुन्छ । नेपाल स्वतन्त्र र सार्वभौम सम्पन्न संसारको अति प्राचिनतम देश मान्दछ । नेपालमा शिक्षा स्वाथ्य, कृषि नीति विदेश नीति मौलिक र नेपाल सापेक्ष चाहिने कुरामा विश्वास गर्छ । रैथाने सम्पत्ति र सम्पदालाई देशको स्वाभिमानसँग जोड्छ ।
आजसम्म नेपाली जनताको दूर्भाग्य नै भन्नूपर्छ कि हाल कायम रहेका कुनैपनि दलमा यी उपरलिखित कुराहरु देखिँदैनन् । नेपाल सापेक्षता देखिँदैन । विदेशीले आइएनजिओ लगाएर वा अन्य कुनै भ्रमपूर्ण आयोजना आदि लदाएर नेपालको अस्मिता लूटिरहँदा मौन बस्नेहरु र त्यसैलाई साथ दिनेहरु त कसरी यी नयाँ भए ? कसरी वैकल्पिक भए ? यो मुख्य प्रश्न हो । पुरानो प्याकेटमा नयाँ स्टिकर टाँसेर मिति गुजे्रको समान प्याक हुँदैमा केहिपनि चीज नयाँ हँुदैन । आवश्यकताको विकल्प पनि हुन सक्दैन । यहाँ त वामपन्थ वा समाजवादी वा उदारवादी जेसुकै नाम दिएता पनि नाम र झण्डा मात्रै फरक हुन तर यिनको नियत र नियतीमा कुनै भिन्नता छैन । स्थापित भनिएका पार्टीमा त नयाँ पुस्ता स्वीकार गर्न नसक्ने अवस्थामा पार्टी नै वैकल्पिक र नयाँको भ्रम नपाल्दा नै हुन्छ । निरन्तरको भारतीय प्रयोगमा अमेरिकन प्रयोगवाद मात्रै थपिएको मात्रै हो ।