संगीत सिक्ने बढ्दै

गत बैशाखमा सरस्वती संगीतालय उद्घाटनका क्रममा नेपालगन्ज नगर प्रमुख लगायत ।

संगीतका लागि लामो साधना आवश्यक हुन्छ । तर धेरै ठाउँमा न त संगीत साधनास्थल छन् न त सङ्गीत सिकाउने गुरु नै । गुरु नभएरै २० बर्ष अघि बन्द भएको नेपालगन्जको सरस्वती संगीतालय सञ्चालनमा आए पछि संगीत सिक्नेहरू बढेका छन् ।

नेपालगन्जको बाँके बगियामा रहेको सरस्वती संगीतालयमा संगित सिक्दै साधकहरू । बन्द भएको २० बर्षपछि गत बैशाखबाट यो संगीतालयमा संगीतका सुत्र र रागहरू सुनिन थालेका हुन् ।

संगीतालय सञ्चालनमा आएपछि, सङ्गीत सिक्न चाहने नेपालगन्ज र आसपासका नागरिकलाई सजिलो भएको छ । सङ्गीत सिकिरहेका नेपालगन्जका ९ बर्षिय इभान पौडेल मात्रै होइन ६० बर्षीय राजेश पौडेल पनि संगीतालय पुग्ने गरेका छन् ।

नेपालगन्जको ऐतिहासिक यो सङ्गीतालयमा संङ्गीत मै भविष्य खोज्नेहरू त आउँछन् नै बुढेसकालसम्मा संगीतलाई साथी बनाउन चाहनेहरू पनि पुग्ने गरेका छन् ।

संङ्गीतालयमा ढोलक, बाँसुरी, मादल, हारमोनियम, पियानोलगायत वाजा बजाउन मात्र होइन गायन, चित्रकला र हस्तकला समेत सिकाइन्छ । सिकाइ एकदमै प्रभावकारी भएकोले प्रशिक्षार्थीको आकर्षण बढेको जानकी २ बेलभारका राकेश ठाकुर बताउँछन् ।

विसं. २०३५ मा स्थापना भएको सरस्वती सङ्गीतालय संगीत सिकाउने गुरुको अभावमा २०५५ देखियाता २० बर्ष सम्मा बन्द रह्यो । त्यसबेलाका प्रशिक्षकहरू रमेश शर्मा र सुरेश शर्माको निधन पछि संगीतालयमा सन्नाटा छाएको थियो । तर नेपालगन्जका श्यामानन्द सिंहले बिहान बेलुका समय दिन थालेपछि सङ्गीतालयमा पुनः संगीतको धुन बज्न थालेको छ ।

संगीतालयमा संगीत सामग्रीको भने अभाव छ । अहिले प्रशिक्षक श्यामानन्द सिंहले आप्mनै सामग्रीबाट प्रशिक्षण दिइरहेका छन् । संगीतालयलाई पुरानै लयमा फर्काउनका लागि सङ्गीत सामग्री उपलब्ध गराइदिन स्थानीय सरकारसहितका दाताहरूसङ्ग अनुरोध गरिएको सरस्वती सङ्गीतालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादव बताउँछन् ।

पश्चिम नेपालकै पुरानो संगीत धरोहरलाई थप गति दिन सके नेपाली संगीत क्षेत्रलाई थप टेवा मिल्ने संगीत क्षेत्रका जानकारहरू बताउँछन् । २ दशक बन्द भएर पुनः सञ्चालनमा आएको सरस्वती संगीतालयलाई फेरि बन्द हुन नदिन स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने उनीहरूको भनाइ छ ।

Exit mobile version