नाइस नेपालगन्जले वर्षेनी प्रदान गर्दै आएको ‘नाइस अवार्ड’ को चौथो संस्करणबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ स्थित असहाय बाल संरक्षण केन्द्रकी अध्यक्ष तारा वलीलाई सम्मान गरेको छ ।
आइतवार भएको औपचारिक समारोहबीच प्रदेश सभा सदस्य अम्बिका काफ्लेले नगद १० हजार सहित चौथो नाइस अवार्ड २०२४ वलीलाई प्रदान गरिन् ।
सात बर्ष शिक्षण पेशा, २ बर्ष सञ्चार माध्यममा जोडिंदै २०७७ देखि बाँकेको ग्रामिण क्षेत्रमा जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र सञ्चालन गरि बालवालिकाहरुको संरक्षणमा क्रियाशिल वलीलाई अवार्ड प्रदान गरिएको हो ।
आफैपनि पारिवारिक हिंसाको सामना गर्दै अगाडी बढेकी तारा वली समाजमा सत्कर्म गरेर अगाडी बढ्नु पर्छ भन्ने मात्यताका साथ बाल संरक्षण केन्द्र सञ्चालन गरेको बताइन् । ‘वलीले गरेको साहस र सामाजिक रुपान्तरणमा पुर्याएको योगदान बापत उक्त सम्मान प्रदान गरिएको हो,’ नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले भने ।
कार्यक्रमका प्रमुख अतिथि काफ्लेले समाजमा राम्रो काम गरिरहेका ब्यक्तिहरुकालागि अवार्ड प्रेरणा भएको बताइन ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोविन्द रेग्मीले समाजका लागि उत्कृष्ट कार्य गरिरहेका वलीलाई गरेको सम्मान धेरैका लागि हौसला र प्रेरणा बन्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि, पत्रकार झलक गैरेले मानवीय कार्यमा अग्रसर ब्यक्तिलाई नाइस अवार्ड प्रदान गरिनुले समाजमा सकारात्मक सन्देस प्रवाह भएको बताए । उनले सम्मान प्राप्त गर्न सफल तारा वली जस्ता समाजलाई जोगाउने सचेत नागरिकको कामको सम्मान गर्नुपर्नेमा जोड दिए । सम्मानले राम्रा काम गर्ने ब्यक्तिहरुलाई हौसला थप्ने धारणा राखेका पत्रकार गैरेले वलीले सञ्चालन गरेको बाल संरक्षण केन्द्रलाई सबैले सहयोग र साथ दिनुपर्नेमा आव्हान गरे ।
कार्यक्रममा नाइस अवार्ड २०२२ प्राप्त गर्न सफल सामाजिक अगुवा प्रबेज अली सिद्दिकी, नाइस अवार्ड २०२१ का सम्मानित व्यक्तित्व अभिराज क्षेत्री, बास नेपालका अध्यक्ष लुना बुढाथोकी र नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले सम्मानित व्यक्तित्वलाई सम्मानपत्रसँगै दोसल्ला, अबीर माला लगाएर सम्मान गरेका थिए ।
सम्मानित व्यक्तित्व वलीले आफुले बाल संरक्षण केन्द्र सञ्चालन गरिरहेका बेला प्राप्त सम्मानले सामाजिक कार्यमा लाग्न थप हौेसला प्रदान गरेको प्रतिक्रिया दिइन् ।
नाइस नेपालगन्जका अध्यक्ष भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नाइस नेपालगन्जका सदस्य मन भण्डारीले गरेका थिए भने कार्यक्रममा उपाध्यक्ष शोभा थापा मगरले गरेका थिए ।
कार्यक्रममा नरैनापुर गाउँपालिका, जानकी गाँउपालिका, बास नेपाल, मंगल प्रशाद माध्यमिक बिद्यालय, भेरी अस्पतालले सहकार्य गरेको थियो । कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने संस्थाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सरकारी निकाय, गैरसरकारी संस्था र युवाहरु गरी ६० बढीको सहभागिता रहेको थियो ।