बाँके : द्वन्द्व सम्झाउन शान्ति स्मारक’

नेपालगन्जमा द्वन्द्वकालीन अवस्थाको झल्को दिनेगरी ‘शान्ति स्मारक’ बनाइने भएको छ । त्यसका लागि द्वन्द्वपीडित तथा एक महिला सञ्जाल बाँकेले नेतृत्व लिएको हो ।

सञ्जालले आइतबार सरोकारवालाहरूसँग समन्वय बैठकको आयोजना गरी शान्ति स्मारक र त्यससँग जोडिएका स्मृतिलाई उजागर हुने विभिन्न प्रतिकको निर्माण गर्न खोजिएको जानकारी दिएको छ ।

‘द्वन्द्वबाट शान्ति प्रक्रियासम्म आइपुग्दा नेपालीले भोगेका तमाम पीडा, समस्यालाई झल्काउने गरी शान्तिको यात्रा समेतलाई उजागर गर्ने गरी प्रतिकात्मक स्मारक बनाउन खोजिएको हो’, सञ्जालकी बाँके अध्यक्ष एकमाया विकले समन्वय बैठकमा भनिन्, ‘यसले हामी जो कसैलाई पनि द्वन्द्वको अवस्थालाई सम्झाएर शान्ति का लागि प्रेरित गर्नेछ ।’ अध्यक्ष विकले नयाँ पुस्ताले शान्ति स्थापनाका लागि नेपालीले ठूलो मूल्य चुकाउनु परेको अवस्थाबारे नयाँ पुस्तालाई थाहा दिनपनि यसखालको स्मारकले भूमिका खेल्ने अपेक्षा गरिन् ।

राष्ट्रिय मानवअधिकार आयोगका नेपालगन्ज स्थित कार्यालय प्रमुख द्वारिका अधिकारी, मानवअधिकारकर्मी भोला महत, प्रकाश उपाध्याय, सुरेश गौतम, बसन्त गौतम, पत्रकार रुद्र सुवेदी, अक्षरी पोखरेल लगायतले त्यसबारे विभिन्न धारणा राखेका थिए । शान्ति स्मारकका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने विचार पनि सहभागीहरूको थियो ।

Exit mobile version