अनुमति लिए होटल रातभर खुल्न पाउने

राती १० बजेपछि नेपालगन्जमा होटल तथा व्यवसायहरू बन्द गराउन प्रहरीले सिट्टी फुक्दै हिड्ने गर्दछ । प्रहरीको गस्ती राती १० बजेपछि पसल, व्यवसाय बन्द गराउँदै आएको छ ।

अब भने बाँकेका होटलहरू मध्यरातसम्म खुल्न पाउने भएका छन् । पूर्ण रूपमा रात्रीकालीन व्यवसाय समेत अनुमति लिएर सञ्चालन गर्न पाउने मापदण्ड जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका रात्रीकालिन पूर्ण समयमा होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड २०८१ जारी गरेको छ । बाँकेका होटल तथा पर्यटन व्यवसायीहरूले यसअघि पटकपटक राती होटल सञ्चालनको समय बढाउन माग गर्दै आएका थिए । त्यसलाई सम्बोधन हुने गरी प्रशासन अन्तर्गतको जिल्ला सुरक्षा समितिले साउन १८ गते मापदण्ड जारी गरेको हो ।

मापदण्डमा होटल सञ्चालन समय, व्यवसायीको कर्मचारी प्रतिको दायित्व, सरसफाई तथा स्वास्थ्य जोखिमको मूल्यांकन, सुरक्षा सम्बन्धी व्यवस्था, व्यवसायीको श्रमिजीवि महिलाप्रतिको दायित्व र आचारसंहिता पालना, सेवाग्राहीले पालना गर्नुपर्ने आचरण, कर्मचारी तथा कामदारले पालना गर्नुपर्ने आचरण तथा अनुगमन सम्बन्धी व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको मापदण्ड अनुसार, लाइभ म्युजिक, पब डान्स क्लब, डिस्को, मदिरा पसल, स्पा, दोहोरी साँझ तोकिएको मापदण्ड पालना गरी जिल्ला सुरक्षा समितिको बैठकबाट निर्धारण गरे बमोजिम रातीको १२ बजेसम्म सञ्चालन गर्न सकिने उल्लेख गरेको छ । ‘कुनै रात्रीकालीन व्यवसायीले पूर्णकालीन समयमा व्यवसाय सञ्चालन गर्न चाहेमा वडा कार्यालयको सिफारिस सहित प्रशासनमा निवेदन दिनुपर्नेछ’, मापदण्डमा रातभर पनि व्यवसाय सञ्चालन गर्न पूरा गर्नुपर्ने प्रक्रियाका बारेमा उल्लेख गर्दै भनिएको छ, ‘त्यस्ता आवेदनमाथि समितिले आवश्यक छानबिन गरी रात्रीकालिन व्यवसाय पूर्ण सयममा सञ्चालनका लागि सुविधा प्रदान गर्न स्वीकृतिका लागि जिल्ला सुरक्षा समिति समक्ष सिफारिस गर्न सक्नेछ ।’

मनपरी शुल्कमा रोक
होटलहरूमा सेवाग्राहीसँग लिने मनपरी शुल्कमा रोक लगाइएको छ । उपभोग्य वस्तु वा सेवाको तोकिएको भन्दा बढी मूल्य वा असाधारण मूल्य असुल गर्न नमिल्ने मापदण्डमा उल्लेख छ । व्यवसायीले प्रदान गर्ने सेवाको विवरण र सोको मूल्यसूचि अनिवार्य रूपमा सबैले देख्ने गरी राख्नुपर्ने मापदण्डमा उल्लेख छ ।

कर्मचारीको तालिम, प्रशिक्षणमा जोड
कर्मचारी तथा कामदारलाई तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाउने, समुदायमा विवाद नआउने गरी व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउने विषय मापदण्डमा समावेश गरिएको छ ।

अनुगमनको व्यवस्था
होटलहरूको अनुगमनका लागि निरीक्षण र अनुगमन समिति बनाइएको छ । रात्रीकालिन पूर्ण समयमा होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड २०८१ अनुसार सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी पाँच सदस्यीय अनुगमन समिति रहने व्यवस्था गरिएको छ ।

श्रमिकको सुरक्षा
रात्रीकालिन पूर्ण समयमा होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड २०८१ बमोजिम सञ्चालन नहुने रात्रीकालीन व्यवसायलाई कारवाही हुने व्यवस्था गरिएको छ । श्रमिक सुरक्षाका सवालमा मापदण्डमा कुनै श्रमजीवि पीडित भएमा वा पीडित हुने आशंका भएमा पीडि वा सो बारेमा जानकार हुनेले समिति वा प्रहरीमा उजुरी गर्न सक्नेछन् ।

प्रहरीमा उजुरी परेमा प्रहरीले पीडितलाई स्वास्थ्य र सुरक्षा प्रबन्ध गरी आवश्यक कारवाही अगाडि बढाउनु पर्ने, उजुरीको कारवाही गोप्य हुने, तथ्य प्रकाशित गर्नुपरे समितिको अनुमतिमा परिवर्तित नामबाट मात्र प्रकाशित गर्नुपर्ने लगायतका विषय समेटिएको मापदण्डमा व्यवसायीलाई आवश्यक निर्देशन दिनेदेखि कानुन बमोजिम थप कारवाही गरिने समेत उल्लेख रहेको छ ।


Exit mobile version