क्यान्सर अस्पतालमा चार महिनादेखि सिटी स्क्यान ठप्प

खजुरास्थित सुशिल कोइराला प्रखर परोपकार क्यान्सर अस्पतालको रेडियोलोजी सम्बन्धि उपकरणहरु रहेको भवनमा गएको चैत १८ गते आगलागी भएको थियो । उक्त आगलागी भएको ४ महिना बितिसक्यो । तर, उक्त रोग पहिचानका लागि अत्यावश्यक उपकरणहरु अस्पतालले अझै सञ्चालनमा ल्याउन सकेको छैन । अहिले सिटी स्क्यानदेखि लिएर एक्स रे सेवासमेत सन्चालन हुन सकिरहेको छैन । बिरामीहरु ती सेवाहरु लिन नेपालगन्ज पुग्नुपर्ने अवस्था छ भने दोब्बर बढी मूल्य तिर्न बाध्यता रहेको छ ।

जाजरकोटबाट छोरीको उपचारका लागि आएका रतन विकले अस्पतालमा साढे ७ हजारमा हुने सिटी स्क्यान नेपालगन्जको निजी प्रयोगशालामा जाँच गराउँदा १५ हजार तिर्नुपरेको बताए । बर्दियाका सुरतबहादुर कुँवरले पनि दोब्बर मूल्य तिरेर निजी प्रयोगशालाबाट सिटी स्क्यान गराउनुपरेको बताए । बिरामीहरुलाई खजुराबाट नेपालगन्ज ल्याउन लैजान र रिपोर्ट लिनसमेत झन्झट ब्यहोर्नुपरिरहेको बिरामीहरुले बताए ।

अछामबाट बुवाको उपचारका लागि आएका उषा शाही अस्पतालमा सिटी स्क्यान नहुँने भएपछि कहाँ जाने भन्ने अन्यौल रहेको अवस्थामा भेटिए । उनले क्यान्सरको उपचार गर्ने भनिएको अस्पतालमै सिटी स्क्यान मेसिन चार महिनादेखि ठप्प राखिनु गलत भएको बताए ।

आगलागीले विद्युत प्रणालीबाहेक मेसिनहरुमा सामान्य मात्रै क्षति भएको अस्पताल बताउँछ । तरपनि मेसिनहरु लामो समयसम्म सन्चालनमा ल्याउन सकेको छैन । अस्पताल प्रशासनले अहिलेसम्म सिटी स्क्यान मेसिनको जाँचसमेत गरेको छैन । विद्युत प्रणाली सुचारु समेत गर्न सकेको छैन । सिटी स्क्यानसँगै एक्स रे र म्यामोग्राफीलगायतका सेवाहरु पनि प्रभावित छन् ।

चार महिनामा अस्पताल प्रशासनले यी मेसिनहरु पुनः सन्चालनका लागि गरेको काम भनेको आगलागीबाट क्षति भएका विद्युतीय उपकरणको खरिद मात्रै हो । अस्पतालका प्रमुख डा. प्रकाश शाहले २० लाख रुपैयाँभन्दा बढीका ब्याट्रि, युपिएस लगायतका विद्युतीय उपकरण खरिद गरिएको जानकारी दिए । तर, ती उपकरणहरु जडान गरेर मेसिनहरु सुचारु कहिले हुन्छन् उनी एकिन भन्न सक्दैनन् । सबै उपकरणहरु सुचारु गर्नका लागि कम्तिामा दुई हप्ता अझै लाग्ने उनले बताए ।

Exit mobile version