यो वर्ष पनि बैशाख –जेष्ठ महिना गर्मी र रुख रोप्न कुराका लागि निकै चर्चामा रह्यो । अब असारदेखि भदौसम्म पानी,नाला र डुबान कुरा हुनेछन्, भइनैरहेका छन् ।
जब पुस –माघको समय आउनेछ, हामी नेपालगन्जवासी जाडो, सितलहर र चोक चोकमा दाउरा वितरणका कुरा गरेर चियाचौतारीदेखि सामाजिक सञ्जालसम्म बहसवाजी गर्नेछौं, पक्कै गर्छाेंनै ।
यी सबै बाँके जिल्लामा हरेक बर्ष यी महिना विशेष चर्चामा रहने कुराहरु हुन । फेरि हरेक बर्षनै पुनरावृत्ति पनि हुन्छ । तर पनि समस्या जस्ताको त्यस्तै ।
हो समय अनुसार मौसम स्वाभाविक हुन्छनै । जाडो,गर्मी,बर्षात, डुबान यी पनि स्वाभाविक अनि प्रकृतिको नियम हो । तर, समस्या समाधान र न्यूनीकरणका कुरा जहिले पनि समस्या टाउको मै पर्दा मात्रै किन ? यसबारे बेलैमा कहिंकतैबाट हेक्कासम्म राखिंदैन ।
अब अलिकति तरिका फेर्नेेकी ?
बिरुवा हुर्कन बर्षौें लाग्छ । बाँकेमा बैशाख जेष्ठको प्रचण्ड गर्मी छोडेर बाँकी १० महिना नै बिरुवा लगाउन र हुर्काउन सकिन्छ । त्यसैले यो काम सधै र नियमित रुपमा गरौं न । सके सम्म हावापानी सुहाउँदो आँप, जामुन, नीम, गुल्मोहर, बर, पिपल,पकडिय आदिको रुख लगाउँ । लगाउने मात्र होइन लगाएको रुखलाई नहुर्किंदासम्म संरक्षण र हेरचाह पनि सामाजिक दायित्वबोधका रुपमा जिम्मेवार बनेर गरौं ।
डुबानको प्रमुख कारण नालामा गरिने जथाभावी फोहरका कारण हुने जाम र बेलैमा सफाइको काम नहुनुनै हो । उस्तै परे वर्षाैंसम्म ढल, नाला सरसफाइनै हुन्न भइहालेपनि वर्षात् लागेपछि अर्थात् ढिलो गरि गरिन्छ, ढंगसँग राम्रो गरि सफा पनि गरिन्न । परिणाम के भन्दा डुबान ।
नाला सफाइको काम मंसिर पुसबाट नै सुरु गर्दा सबैतिरको ढलदेखि नालासम्मको सरसफाइ समय मै सकिन्थ्यो । ढल निकास तथा नाला सरसफाई सरकारी निकायले गर्ने काम त छँदै छ, जिम्मेवार बनाऔं । हामी नागरिकले पनि नाला जाम गर्ने गरि जथाभावी प्लाष्टिकका बोत्तल र प्लास्टिक जन्य पदार्थको प्रयोग अनुशासित नहुने ? सकेसम्म प्लाष्टिकजन्य प्रयोग नगर्ने, गर्नै परे कम वा पुनःप्रयोग गर्ने र प्रयोग भएको प्लाष्टिकलाई पनि उचित व्यवस्थापन गर्न किन जिम्मेवार बन्ने के । ल न सुरुवात र सहयोग गरौं ।
यो प्रकृति र ठाउँ हाम्रो हो नि । कोशिस र सुरुवात पनि हामीले नै गर्नुपर्छ । अब मौषमलाई दोष दिएर बहसका टेबल तताएर चिया चिस्याउनुको अर्थ छैन, आउनुस् बेलैमा पूर्वतयारीका स–साना तर, महत्वपूर्ण पहलकदमी लिउँ । म तयार छु, आउनुस् हातेमालो गरौं । कोशिश गरे पक्कै प्रकृतिको क्षयिकरण जोगिन्छ ।